‘अभिशाप बन्यो खडीखानीको सपना’

चैनपुर । कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुंगाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो । खडीखानीमा पसिना चुहाएर मनग्य आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै ठेकेदारमार्फत् उत्तराखण्ड जान्थे । यतिसम्मकी यहाँका धेरै युवाले कमाइको लोभमा माध्यमिक तहको अध्ययन गर्नुभन्दा मुग्लान पस्नुलाई आफ्नो भलाइ ठान्थे । त्यस्तै नियतिले मष्टा गाउँपालिका–६ का लक्ष्मण बोहरालाई पनि पछ्यायो ।

विगत १२ र १५ वर्षदेखि त्यहाँ आउनुजानु लक्ष्मणको नियमित कर्मजस्तै थियो । यहीक्रममा एक दशकअघि पनि उनले मंसिरमा खेतबारीमा गहुँ छरेर दर्जन बढी आफन्तसँगै दैलो छोडे । सुरुआती दिन राम्रैसँग बिते । यसताका कामको चापले घर छोडेको १५ महिनापछि मात्रै जन्मथलो फर्किएको उनको मानसपटलमा ताजै छ । ‘जीवनको पहिलो कमाइ बाआमालाई दिँदा आँखामा खुसीको आँशु बगेको थियो’, लक्ष्मणले सम्झिए, ‘छोरो गरी खाने भइसक्यो भनेर गाउँभरि खुसी साट्दै मिठाइ बाढ्नुभएको अहिल्यै होजस्तो लाग्छ ।’
मिहिनेतअनुसार खडीखानीको कमाइले बाबाआमालाई सदरमुकाम राख्ने, घर–जमिन जोड्ने र त्यसपछि बिहे गर्ने लक्ष्मणको तयारी थियो । तर उनले १० वर्षअघि विवाह गर्नैपर्ने भयो । बिहेपछि पनि उनको कमाइ राम्रै थियो । आवतजावत चलेकै थियो ।

उनी पाँचौँपटक बाबाआमा र छोरीलाई सदरमुकाम राख्ने र उतै पढाउने सल्लाह गरेर खडीखानीतर्फ लागे तर यो उनको अन्तिम यात्रा भयो । खानी खन्दैगरेका बेला पहिरो पहिरो झ¥यो । त्यही पहिरो उनका लागि अभिशाप बनेर आयो । लक्ष्मणले दिएको जानकारीअनुसार पहिरो झरेपछि सँगै काम गरिरहेका साथीहरू भाग्न सफल भए । तर उनी भने सुरूकै ढुंगा टाउकोमा लागेर त्यही ढले । पछि ठूलो पहिरोले कम्मरभन्दा मुनिको भाग पूरै च्यापियो ।
‘मेरो होस् नै थिएन । अन्य साथीहरूले अचेत अवस्थामै अस्पताल पु¥याए छन् । अस्पतालमा महिनादिनपछि मात्रै मेरो चेत खुल्यो । ठेकेदार र अस्पतालले चलखेल गरेर सञ्चो भइसक्यो भनेर घर पठाए’, ती दिन सम्झिँदै उनले भने, ‘सामान्य औषधि दिएर ‘डिस्चार्ज’ गर्यो तर फेरि विसञ्चो भएपछि मेरा भाइहरू भएको ठाउँ बैंग्लोर गएर उपचार गरियो ।’

त्यहाँ ४ महिनासम्म उपचार गरिएपछि चिकित्सकको सल्लाहमा औषधि बोकेर घर पठाइएको उनले बताए । ‘घर फर्कंदा मर्नु न बाँच्नु भयो । अहिले आमाबुबा र श्रीमतीले स्याहार्दै आएका छन् । ६ वर्षदेखि परिवारको सहयोग र औषधिको भरमा स्वास धानिएको छ’, लक्ष्मणले मलिन मुद्रामा भने ।

लक्ष्मणको मेरुदण्ड भाँचिएको हुँदा कम्मरभन्दा तलको भाग चल्दैन । अहिले ७३ वर्षीय बुबा धनपति बोहराले उनलाई सहारा दिइरहेका छन् । आफू र श्रीमतीले पाउने वृद्धभत्ता र छोरा लक्ष्मणले पाउने अपांगता भत्ताबाट परिवारको पेट पालिएको बुबा धनपतिले बताए । ‘आफ्नो जीवन बाचुञ्जेल सबै छोराका लागि केही व्यवस्था गरिदिने सोच थियो । विडम्बना कान्छो छोरा लक्ष्मणको यो हालत भयो । छोराको उपचारमा भएको सबै सम्पत्ति खर्चिंदा पनि सञ्चो भएको छैन । अब बाँकी दिन कसरी काट्ने होला’, उनले भने ।
बुबा धनपतिका अनुसार छोराको उपचारका लागि ३५ लाख खर्च भएको छ भने त्यसमध्ये ५ लाख भाइले, ५ लाख रोजगारदाताले दिएको र २५ लाख लक्ष्मणकै भागको जग्गा बेचेर खर्च गरिएको हो ।

‘बुबाआमालाई सुख दिने बेलामा उल्टै बुढेसकालमा उनीहरूको गलगाँडजस्तै भएको छु । उठ्न र बस्नसक्ने अवस्था पनि छैन । अझै घाउ सञ्चो भएको छैन । घरका सबैले काम छोडेर मेरै सेवा गरिरहनुपरेको छ’, लक्ष्मणले पीडा पोखे । उनले विगत ६ वर्षदेखि मासिक २० हजार बराबरको औषधि नियमितरूपमा सेवन गरिरहेको सुनाए ।

त्यो खर्च धान्न बोहरा परिवारलाई धौधौ छ । ‘अन्न नउब्जिएपछि छाक टार्नै मुस्किल छ । कमाई छैन, सामाजिक सुरक्षा भत्ताले खान पुग्दैन । त्यसैमा छोराको उपचारमा ऋण लागेकाले समस्यामा छौँ, बुबा धनपतिले दुःखेसो पोखे ।

प्रतिक्रिया