शिक्षकको अभाव झेल्दै सामुदायिक विद्यालय

मधेस ब्युरो । मधेस प्रदेशको विद्यालयमा विद्यार्थीको चाप धेरै रहेको छ । विद्यार्थीको चाप धेरै हुने तर शिक्षकचाहिँ अपुग हुँदा शिक्षक अभावका बीच पठनपाठन अगाडि बढाउनुपर्ने बाध्यता छ । गुणस्तरीय शिक्षाको जतिसुकै ढ्वाङ फुके पनि मधेसमा विद्यार्थी–शिक्षक अनुपात मिलाउन नसक्दा गुणस्तरमा सरकारको सबै कुरा हावादारी सावित भइरहेको छ ।

मधेस प्रदेशमै सबैभन्दा बढी विद्यार्थी भएको रौतहटको कटहरियामा रहेको जनता माध्यमिक विद्यालयलाई मानिन्छ । कटहरिया नगरपालिकाको केन्द्र कटहरिया बजारमा रहेको यस विद्यालयमा ३ हजार ६५८ विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा १ हजार ८५९ छात्र र १ हजार ७९९ छात्रा अध्ययनरत छन् ।

विद्यालयको सबैभन्दा कम विद्यार्थी भएको कक्षा शिशु हो । जसमा केबल ४० छात्रछात्रा मात्र छन् भने सबैभन्दा बढी विद्यार्थी भएको कक्षा ८ हो जसमा ४५४ जना रहेका छन् । यो गत शैक्षिक सत्रमा इएमआइयसमा प्रविष्ट विद्यार्थी संख्या हो । चालु शैक्षिक सत्रमा ३६३ विद्यार्थी विद्यालयबाट बाहिरिएका छन् करिब ६०० जना विद्यार्थी विद्यालयमा भित्रिएको विद्यालयका प्रधानाध्यापक सचिन्द्रप्रसाद यादवको भनाइ छ । यसरी चालु शैक्षिक सत्रमा ४ हजारभन्दा बढी विद्यार्थी विद्यालयमा भएको वर्तमान अवस्था छ ।

यति धेरै विद्यार्थी भए पनि सरकारले केवल २० शिक्षक उपलब्ध गराएको छ । सरकारी दरबन्दी अनुसारप्रति शिक्षक १८३ विद्यार्थी रहेको छ जबकि सरकारको शिक्षा ऐन तथा नियमावलीले एक शिक्षक बराबर ५० विद्यार्थी हुनुपर्ने प्रावधान रहेको छ ।
विद्यार्थीको चाप अत्यधिक भएको भन्दै नगरपालिकाले दिएको अनुदानमा २ शिक्षक रहेका छन् । विद्यालयले निजी स्रोतमा २३ शिक्षक भर्ना गरेको छ । विद्यालयमा सरकारी दरबन्दी, नगरपालिकाको अनुदान तथा निजी स्रोतको समेत गरी ४५ जना शिक्षक शिक्षिका रहेका छन् । तैपनि विद्यालयमा विद्यार्थी शिक्षकको अनुपात ८२ः१ रहेको छ । अनि कसरी गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ ?

कक्षाकोठामा विद्यार्थीको चाप अत्यधिक भएको कारण चाहेको जस्तो गुणस्तरीय शिक्षा दिन नसकिएको प्रअ यादव बताउँछन् । सरकारले तोकेको ऐन तथा नियमावलीअनुसार शिक्षक दरबन्दी नहुँदा विद्यार्थीमाथि शिक्षाको नाममा अन्याय भइरहेको भए पनि सबै शिक्षक इमानदारीसाथ, लगनशील भएर र अत्यधिक परिश्रम गर्ने भएकाले विद्यार्थीको चाप विद्यालयमा बढेको र अभिभावक तथा विद्यार्थीको रोजाइमा विद्यालय परेको प्रअ यादवले बताए ।

हरेकजसो गाउँमा माध्यमिक विद्यालय र हरेक टोलमा प्राथमिक विद्यालय रहेको भए पनि यस क्षेत्रकै मुख्य बजारको रूपमा कटहरिया भएको कारण विद्यालयमा विद्यार्थीको चाप अत्यधिक हुन गएको हो ।

नगरपालिकाले विद्यालयलाई विभिन्न किसिमले प्राविधिक सहयोग गरिरहेको प्रअ यादवको भनाइ छ । नगरपालिकाले पनि यस विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने सोच राखेको बुझिएको प्रअ यादवको भनाइ छ ।

वर्तमान नगरप्रमुख अजयप्रकाशले निर्वाचित हुनासाथ नगरभित्रका सबै विद्यालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन गराइने पहिलो घोषणा गरेका थिए । नगरप्रमुख निर्वाचित भएपछि २ वर्ष बित्न लाग्दा पनि पूर्ण अंग्रेजी माध्यमको एउटै विद्यालय पनि नगरपालिकाले घोषणा गर्न सकेको छैन । नगरप्रमुखको कारणले जनता मावि कटहरियामा विद्यार्थी बढेको नभई पहिलेदेखि नै यस विद्यालयमा विद्यार्थीको चाप अत्यधिक हुने गरेकै छ ।

राज्यले विद्यार्थी शिक्षक अनुपात मिलाइदिने हो भने मधेसमा शिक्षाको स्तर निकै माथि उठ्ने बुद्धिजीवीहरू बताउँछन् । पहिले विद्यार्थीको चाप कम हुँदाको अवस्थामा रहेको शिक्षक दरबन्दी विद्यार्थीको चाप ५ गुनासम्म बढ्दा पनि सरकारले दरबन्दी मिलान गर्न नसक्दा मधेसको शिक्षा हरेक वर्ष खस्किँदो अवस्थामा रहेको बुद्धिजीवीहरू बताउँछन् ।

जनता मावि कटहरियाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नसरुद्दीन अन्सारीले सरकारले आवश्यकताको एकचौथाइ जति शिक्षक उपलब्ध गराएर अभिभावक, विद्यार्थी तथा शिक्षामाथि अन्याय गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया