मधेस ब्युरो । निरन्तर खडेरी र सुक्खा बढ्दै गएपछि जन्तु जनावर प्रभावित हुन थालेको छ । मुख्यगरी छाडा जन्तु जनावर, चराचुरुंगी तथा जंगली जनावर अत्यधिक गर्मी र सुक्खाको प्रभाव वन्यजन्तु तथा चराचुरंगीमाथि पर्न थालेको छ । लामो समयदेखि रहेको खडेरीले रौतहटको मुख्य नदीमध्ये एक बकैया खोलाका साथै अन्य सानातिना खोलाखोल्सीहरू सुकिसकेका छन् ।
बकैया र अन्य खोलाहरू सुकेपछि खोलाको पानीमा आश्रित छाडा पशु चौपाया तथा जंगली जनावर र चराहरूमाथि संकट आइपरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–२ मा पानी खान नपाएर अत्यधिक गर्मी र सुक्खाले नीलगाई मरेको पाइएको छ ।
आजभोलि रौतहटसहित विभिन्न जिल्लाको तापक्रम दिउँसो ४० देखि ४४ डिग्रीसम्म पुग्न थालेपछि जंगली चौपाया र चराहरू पानी खान नपाएर र गर्मीले मर्न थालेका छन् ।
देवाही गोनाही नगरपालिकाका पूर्वनगरप्रमुख धर्मेन्द्र पटेलले गत वर्ष पनि बकैया खोला सुकेको र यसवर्ष पनि सुकेको बताएका छन् । करिब दुई महिनादेखि बकैया खोला सुकेपछि जन्तु जनावारलाई समस्या भएको पटेलको भनाइ छ ।
लाल बकैया नदीको दायाँबायाँ करिब ५–५ किलोमिटर दुबैतर्फ दुरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहले बताएका छन् । पानीको समस्या मधेसमै बढदै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्रायःजसो ह्यान्डपाइप सुक्ने र मानिसलाई पानी खानसमेत समस्या हुने नगरप्रमुख साहको भनाइ छ ।
गत वर्ष खोला सुकेपछि विभिन्न पालिकाले खोलाको बीचमा खाल्डो खनेर वन्यजन्तु तथा छाडा पशुपंक्षीलाई पानी खान सजिलो बनाइएको थियो । गत वर्षभन्दा छिटै गर्मी चर्के पनि कुनै पालिकाले खोलानालाको छेउछाउमा बस्ने जन्तुजनावर प्रति संवेदनशीलता देखाएका छैनन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया