काठमाडौँ । शैक्षिक सत्र सुरु भएको केही महिनासम्म पनि पाठ्यपुस्तक नपुगेर समस्यामा पर्ने गरेका विद्यार्थीका लागि यस वर्ष भने सो समस्या नहुने भएको हो । यो वर्ष नयाँ शैक्षिक सत्र सुरु हुनु ३ दिनअघि नै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको जानकारी दिएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका ९ वटा बिक्री केन्द्रमा शैक्षिक सत्र २०८१ का लागि सबै विषयका पुस्तक छापेर पु¥याइएको जानकारी दिए । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीबाट १३ देखि २८ चैतसम्म पाठ्यपुस्तक बिक्री गरिएको छ ।
झाका अनुसार आउँदो शैक्षिक सत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका १ करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले चौबिसै घन्टा पुस्तक छापेको थियो । ‘हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला–जिल्लामा पाठ्यपुस्तक पु¥याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत् विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछ,’ झाले भने, ‘राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।’
कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत प्रकाशनका पाठ्यसामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।
केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । गत १ चैतमा शिक्षामन्त्री सुमना श्रेष्ठले केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गर्दै समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएकी थिइन् ।
यसैबीच, नयाँ शैक्षिक सत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया गर्ने कार्यक्रम छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोखरेलले जानकारी दिए ।
सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ ।
अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।
प्रतिक्रिया