मधेस ब्यूरो । सहिद रामविश्वास जनारसी प्रतिष्ठान रौतहटका अध्यक्ष विपिन जयसवालले होलीलाई असत्यमाथि सत्यको विजयको पर्वको रुपमा लिइने भएकाले आफूभित्रको असत्यमाथि आफैँले विजय प्राप्त गरेर होली खेल्न सुझाव दिएका छन् ।
रौतहटको गरुडामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष जयसवालले विपन्न, सहिद परिवार तथा निमुखा नागरिकलाई होलीको विकृतिले थप आर्थिक भार दिइरहेको बताउँदै सामाजिक सद्भाव कायम राख्न र सबैको साझा पर्वको रुपमा होलीलाई कायम राख्न विकृतिमाथि विजय प्राप्त गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमुनिप्रसाद कल्वारले होलीलाई रङ र अबिरको पर्वको रुपमा मात्र नलिई सबै वर्ग र समुदायको साझा आत्मीयताको पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन् । होलीले सामाजिक एकता र भाइचाराको सन्देश दिएको बताउँदै नगरप्रमुख कल्वारले होलीलाई शान्तिपूर्वक मनाउन सबैमा आग्रह गरे ।
यसैगरी नेकपा एसका मधेस प्रदेश सदस्य बृजकिशोर यादवले होलीलाई हरेकले आफ्नो तर्फबाट विकृतिरहित बनाउने हो भने संस्कृतिको सम्मान हुने बताए । सशस्त्र बेस दुधियाभारका प्रमुख सप्रनी सन्जितकुमार सिंहले होलीको दिन झन्झट–झमेला हुँदा धेरै परिवारको होली नै बिग्रिने गरेको बताउँदै सबैले आफूलाई नियन्त्रणमा रहेर र अरुलाई कुनै किसिमले बाधा विरोध नगरी होली मान्न सुझाव दिएका छन् ।
गरुडा– ५ का वडाध्यक्ष रामविनोद प्रसाद साहले होली मिलन, सद्भाव तथा आत्मीयताको पर्व भएकाले सबैले सबैको लागि शुभ हुने गरी मनाउन आग्रह गरेका छन् । वडाध्यक्ष साहले होलीले आत्मीयता बढाउनुपर्नेमा जोड दिए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया