रौतहट । जिल्लाको मौलापुर–५ पतौरास्थित महादेव मन्दिर नजिकै उत्खनन गर्दा आश्चर्यजनक संरचना भेटिएको छ । पुरातत्व विभाग र मौलापुर नगरपालिकाको संयोजनमा भइरहेको उत्खननमा हजारौँ वर्ष पुरानो संरचना भेटिएको हो ।
पुरातत्व विभागका आर्किटेक्चर रोशनी महर्जनले जमिनको सतहदेखि २ सय ७८ सेमी गहिराइसम्म उत्खनन गरिरहेको बताउँदै निकै पुराना संरचना भेटिएको दाबी गरेकी छन् ।
गत ११ फागुनदेखि भएको उत्खनन कार्य २५ फागुनसम्म पुरातत्व विभागको पाँच सदस्यीय टोलीले गर्ने बताइएको छ । पुरातत्व विभागको टोलीमा उपसचिव देवेन्द्रनाथ तिवारी, नायबसुब्बा विराज थापा, प्रकाश दर्लान र रमेश श्रेष्ठसहित आर्किटेक्चर रोशनी महर्जन रहेका छन् ।
पुरातात्विक महादेव मन्दिरभन्दा करिब एक सय मिटर उत्तरमा भेटिएको पुरातात्विक अवशेषको अहिले उत्खनन भइरहेको छ । पुरातात्विक अवशेष देखिएको ठाउँलाई यसै वर्ष मौलापुर नगरपालिकाले २० लाख रुपैयाँ दिएर अधिग्रहण गरेको छ । तर, उत्खनन गर्दै जाँदा पहिले अनुमान गरिएको भन्दा उत्तरतिर संरचना बढ्दै गएको छ । जमिन भित्रको संरचना उत्खनन गर्दै जाँदा उत्तरतर्फ निजी जमिनसम्म गइरहेकाले स्थानीयले उत्खननमा अवरोध गरिरहेको आर्किटेक्चर महर्जनले बताइन् ।
‘स्थानीयले जमिनको मुआब्जाको कुरा उठाउँदै अवरोध गरेका छन्, ‘आर्किटेक्चर महर्जनले भनिन्, ‘यस बारेमा नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हो ।’ अर्कोपटक आउँदा नगरपालिकाले जग्गाको किचलो मिलाइसकेको हुनुपर्ने पुरातत्वविदहरूको सुझाव छ । मौलापुर–५ पतौराको जमिनभित्र भेटिएको संरचना अद्भुत रहेको र पुरातत्वविदहरूले नेपालमै सबैभन्दा पुरानो संरचना भएको बताउने गरेको पूर्वमन्त्री तथा यस क्षेत्रका सांसद प्रभु साहले दाबी गरेका छन् । पुरातात्विक महादेव मन्दिरको उत्खनन कार्यदेखि नै संलग्न रहेका विराज थापाले भने, ‘यस किसिमको अद्भुत संरचना नेपालमा अन्यन्त्र कतै देखिएको छैन ।’
पुरातत्वविदलाई नै आश्चर्यचकित बनाइरहेको उत्खननले नेपालको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ । मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले नगरपालिकाको लगानीमा उत्खननको काम निरन्तर भइरहेको बताउँदै पुरातत्वविद्ले उत्खनन पूरा नगरेसम्म सबै किसिमको सहयोग गरिरहने बताएकी छन् । नगरप्रमुख साहले भनिन्, ‘मौलापुरको मात्र नभई रौतहटमार्फत यो पुरातात्विक सम्पदा देशकै धरोहर हो ।’
उत्खनन कार्य अझै भइरहेको र स्थानीयले अवरोध गरेको ठाउँतर्फ धरतीको गर्भभित्रैबाट संरचना अगाडि बढेको पाइएकोले कुनै समयमा यहाँ निकै ठूलो भव्य महल वा मन्दिर रहेको अनुमान रहेको छ । पतौराको धरतीभित्र अझै कति पुरातात्विक अवशेष छ ? उत्खनन पूरा नहुञ्जेल केही भन्न नसकिने अवस्था रहेको थापाले बताए ।
गतवर्ष महाशिवरात्रीको समयमा मौलापुर मधानी महोत्सवमा सहभागी हुन आएकी भारत बिहार सरकारको सेवा निवृत्त पुरातत्वविद डा.विद्या चौधरीले इँट्टालाई हेर्दै गुप्तकालको रहेको बताएकी थिइन् । मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले हजारौँ वर्ष पुरानो पुरातात्विक संरचना धरतीको गर्भबाट उत्खननमा देखिएको र अझै उत्खनन भइरहेकाले नगरपालिकाले विशेष महत्व दिएर काम गरिरहेको बताएका छन् ।
पुरातात्विक महादेव मन्दिरमा मेला लगाउन तथा यहाँको पुरातात्विक अवशेषको बारेमा दुनियाँलाई जानकारी गराउन हरेक वर्ष मौलापुर नगरपालिकाले देश विदेशका कलाकार बोलाएर मधानी महोत्सव र अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता गराउने गरेको बताएका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया