जनकपुरधाम । व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूले सकारात्मक रुपमा लिएको थापाले बताए । शनिवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे । थापाले भने, ‘संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ, हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ ।’
‘हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं,’ उनले भने, ‘गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा हाम्रो हो ।’ अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । उनले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्रजातान्त्रिक व्यवस्थाको कुरा गरेको बताए ।
प्रतिक्रिया