जनकपुरधाम । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेसी समुदायलाई लक्षित गरी गालीगलौच, अपमानजनक शब्द प्रयोग गर्ने, नश्लीय व्यवहार गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्न प्रहरीलाई संवेदनशील र सचेत बनाउन नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आग्रह गरेका छन् ।
आयोगको कार्यालयमा अध्यक्ष डा. दत्त र महानिरीक्षक कुँवरबीच भएको भेटमा अध्यक्ष डा. दत्तले आयोगमा दर्ता भएका नश्लीय व्यवहारसँग सम्बन्धित उजुरीमाथि कडा कारबाही गर्न आयोगले समयसमयमा प्रहरीलाई पत्राचार गरे पनि त्यसमा गम्भीर नहुनु दुःखद् रहेको बताएका छन् ।
अध्यक्ष दत्तले तराई मधेसमा दिनप्रतिदिन बढ्दै गएको घरेलु हिंसा रोकथाम गर्न आयोग र प्रहरीको समन्वयकारी भूमिका आवश्यक रहेको समेत बताएका छन् । उनले नेपाल–भारत सीमामा देखापरेका विभिन्न समस्यालाई समाधान गर्न आयोग र नेपाल प्रहरीको उच्चस्तरीय टोली अनुगमनका लागिसमेत पठाउन आवश्यक रहेको बताउँदै सोको लागि आवश्यक सहजीकरण गरिदिनसमेत अनुरोध गरेका छन् ।
सो बैठकमा बोल्दै महानिरीक्षक कुँवरले प्रहरी नश्लीय व्यवहारको घटनाप्रति सचेत रहेको र आयोगसँग समन्वय तथा सहकार्य गरी आगामी दिनमा यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सो बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकराज तामाङ, वरिष्ठ प्रहरी उपरीक्षक शिशिर खनाल, आयोगकी उप–सचिव सविता डंगोल सहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया