मधेसमा ढुंगाना र चौधरी निर्वाचित

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट सत्तारूढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् ।
अन्य कोटा तर्फबाट ७ हजार ३ सय ७० मतभार पाएर ढुंगाना निर्वाचित भएका छन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरूको २ सय १ मत पाए । एमालेकी उषा चौधरीले २ हजार ४ सय ८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ ।

महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९ सय २३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरूको २ सय ५ मत परेको छ । एमालेकी उषा चौधरीले २ हजार ४ सय ४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो । राष्ट्रिय सभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।

यसैक्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ नेताकार्यकर्तालाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी आजपाले बिहीबार मधेस बन्द आह्वान गरेको थियो । सो क्रममा जनकपुरधाममा बन्द गराउँदै हिँड्ने २३ जनालाई रामानन्दचोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

डिएसपी अवाका अनुसार उनीहरूलाई जनकपुरधामको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले बिहीबार मधेस बन्द आह्वान गरेको थियो । बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले बिहीबार एक दिन मधेस बन्द घोषणा गरेको हो । यद्यपि आजपाको बन्दको आंशिक प्रभाव मात्र परेको थियो ।

प्रतिक्रिया