सुकुम्बासी बस्तीका १० जना मुसहरलाई एकसाथ नागरिकता

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियाका सुम्बबासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरिएको छ । बस्तीका १० जनलाई एकैसाथ नागरिकता प्रदान गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दिए ।

विपन्नता र अशिक्षाको कारण लामो समयदेखि उनीहरू नागरिकताबाट वञ्चित थिए । बस्तीकै मोतिलाल सदाले ४८ वर्षमा नागरिकता पाएका हुन् । उनीसँगै बस्तीकै अनिता कुमारी सदा, इन्द्र रेखा सदा, विनिता कुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दीपेन्द्र सदाले नागरिकता पाएका छन् ।

केहीदिन अघि सो वस्तीमा नागरिकताविहीनका लागि हेल्भेटास नेपालको सहजीकरणमा मानव कल्याण समाज नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा प्रजिअ पाण्डे पुगेका थिए । उनीहरूले लामोसमयदेखि नागरिकता नपाएको गुनासो गरेका थिए । कार्यालयमा जाँदा पनि कागजी प्रक्रिया पूरा गर्न नसक्दा वञ्चित रहेको गुनासोपछि कार्यालयमै बोलाएर उनीहरूलाई नागरिकता प्रदान गरेको प्रजिअ पाण्डेले बताए । उनका अनुसार थप सात जनालाई कानुनी प्रक्रिया पूरा गरी छिट्टै नागरिकता प्रदान गरिनेछ ।

प्रतिक्रिया