फुटपाट व्यवसायीका कारण कुरूप बन्दै जीतपुर

सडक अतिक्रमण गरी व्यापार !

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको–७ जीतपुरको मुख्य सडकखण्डमा स्थानीय खुद्रा व्यापारीलगायत तरकारी ठेला सञ्चालकले सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन बढ्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको वीरगञ्ज पथलैया ६ लेन सडकअन्तर्गत जीतपुर चोकमा पछिल्लो समय सञ्चालित विभिन्न पसल व्यावसायिकलाई पटकपटक हटाउने प्रयास गरे पनि प्रभावकारी बन्न सकेको छैन । सो चोकमा व्यापारीहरूले बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफूललगायत विभिन्न सामग्रीको व्यापार गर्दै आएका छन् ।
खुद्रा व्यापारीले दैनिकरूपमा बजारको मुख्य सडकखण्डको भाग मिचेर व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि सर्वसाधारणलाई समेत सडकमा आवतजावत गर्न समस्या हुन थालेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको गेटदेखि बकुलिया जाने बाटोको दुवैतिर फुटपाट व्यवसायीले ठेला लगाएर व्यापार गर्दा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । सडकको छेउछाउमा ब्यापार गर्ने ब्यापारीले ठेला तथा घुम्ती जस्तै रेडिमेन्ट घर ल्याएर ब्यापार गर्ने गरेको भए पनि नियमकारी निकाय मौन रहेको छ । सडकको छेउछाउमा खुल्ला रूपमा नालामाथि बाँस र काठको स्लेप बनाएर हालेर अहिले ब्यापारीहरूले व्यवसाय गरिरहेका छन् ।

उपमहानगरपालिका–७ ले पटकपटक सूचना जारी गरी सडकको छेउछाउमा व्यवसाय गर्नेलाई खाली गर्न भने पनि ब्यापारीले अटेर गरेको कारण जीतपुरमा सडकको भाग अतिक्रमण गरेर ब्यापार बढ्दै गएका छन् । मुख्य सडकलाई अतिक्रम गरेर व्यवसाय गर्नले जीतपुर बजार फोहोर बन्दै गएको र सटर भाडामा लिएर व्यवसाय गर्नेहरू फुटपाट बजारको कारण विस्थापित हँुदै गएकाले यसको मुख्य जिम्मेवार उपमहानगरपालिका रहेको नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

लामो समयसम्म पनि नगरपालिका र स्थानीय प्रशासनले सडक अतिक्रमण गरेर व्यापार सञ्चालन गर्ने खुद्रा व्यापारी तथा ठेला सञ्चालकलाई सडकबाट हटाउन प्रयास नगर्दा यस्ता व्यापारीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । सडक अतिक्रमण हुँदै गएका कारण यातायात सञ्चालन जटिल बन्दै गएको छ भने सवारी दुर्घटना र मानवीय दुर्घटना हुने खतरा पनि बढ्दै गएको पाइन्छ ।

यसतर्फ बेलैमा सम्बन्धित निकायको उचित ध्यान जानुपर्ने सरोकारवालाको धारणा रहेको छ । यता उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनीलकुमार गुप्ताले आफूले बारम्बार सूचना निकालेर सडक अतिक्रमण गरेर ब्यापार गर्नेहरूलाई खाली गराए पनि उनीहरूले अटेर गरेको तथा नगर उद्योग वाणिज्य संघले नै पुनः त्यहाँ ब्यापार गर्न भनेपछि अहिले सडक अतिक्रमण गरेर ब्यापार भइरहेको बताए ।

प्रतिक्रिया