लालबन्दी । ओसिलो भुइँमा गुन्द्रीको भरमा रात काट्छन् ब्रम्हपुरीका असर्फी सदा । उनकी श्रीमती र दुई छोरी पनि पातलो कपडामाथि पराल छिरोलेर रात कटाउँछन् ! पुस माघको लुगलुग कमाउने जाडोमा पनि न शीत छेल्ने छानो छ, न आङ ढाक्ने कपडा छ उनीहरूसँग भुइँको चिसो थेग्ने खाट उनीहरूका लागि सोच्न पनि मुस्किल छ । उनीहरूका अघि विवस गरिबी र अभावबाहेक केही छैन । जीवनको अँध्यारो भित्रको भोगाइ मात्रै छ उनीहरूसँग । समयले चिथोरेको अस्ताचलको बादलको जस्तै फिक्का र निरास उनीहरूको जीवनको भोगाइ । चिसोले उनीहरूको ज्यान मात्रै होइन, मन पनि कठ्यांग्रिएको छ ।
हुनेखानेहरू बजार डुलेर न्याना–न्याना ओढ्ने ओछ्याउने कपडाको जोहो गर्छन्, मीठो–मसिनो खाने कुराको मेसो मिलाउँछन् । हिटर, दाउराको बन्दोबस्तमा लाग्छन् । तर असर्फी सदा भने एकनासले बर्षौंदेखि एउटै नियति बाँचिरहेका छन, र भन्छन्; ‘गरिबके के देख्तै हजुर ?’ उनको यो प्रश्नवाचक शब्दमा निराशा र अभाव मिसिएको छ ।
हरेक साँझ कन्दमूल, बिहानको बासीभात अथवा रोटी र सब्जी पाक्छ उनको कुटीमा । दही, दूध, माछा, मासु, मीठो मसिनो कहिलेकाहीँ मात्रै उनको भान्सामा जुर्छ । असर्फीले भने, ‘हामी गरिबको आफ्नै संसार छ, जिन्दगी जिउने परिभाषा आफ्नै छ । हामी गरिबको यो दुनियाँमा कोही छैन, बाँच्नका लागि केबल झिनो आशा छ । त्यही आशा नै जिन्दगीको परिभाषा हो, अनि पूर्णता हो ।’
असर्फी मात्रै दुःख भोग्ने एक्ला मुसहर होइनन् । उनका अगाडि पछाडि उनकै जस्तो दुःखको पहाडसँग पौठाजोरी खेल्दै आएका सयौँ इस्टमित्र छन् । असर्फीले भने, ‘भोल्बाको र मेरो दुःख उस्तै छ । सुबाइ चाचाको ८१ वर्षको उमेरमा पनि चोला फेरिएको छैन, हामी त यस्तै नै हो नि !’ सदाको घर नजिकै जोडिएका इस्टमित्र आफन्त, दियादसँगै छन् । झन्डै १५ घरको मुली हुन् असर्फी सदा । उनलाई सबैले आदर गर्दछन् । दुःखमा सुखमा अनि मिलनमा, उनको उपस्थिति उनको टोलभरी खड्किन्छ ।
उदेगलाग्दो छ नियति मानव चोला ! असर्फी सानो खरले छाएको झुप्रोमा बस्छन् । उनी बसेको जग्गा कसको हो उनी स्वयंलाई थाहा छैन । उनले भने, ‘मालिक के है हमरा थाहा न है । जहिया बेल्गतै तहिया चल जबै’ असर्फीको टोल वरिपरि बिघौँबिघा जोत्ने महाजनका फाँटिला खेतीयोग्य जमिन छन् । हरिया मकैका घोगा, गहुँका बाला, तोरी, उखु, तरकारी, फलफूलले ढपक्कै ढाकेको त्यो उर्वरता उनीहरूको लागि आकासको फल हो ।
ठुल्ठूला मालिकका खेतहरूमा उनीहरूको परोक्ष निगरानी हुन्छ । तर मालिकले भने सधैँ उनीहरूलाई दास मात्रै सम्झन्छन् । समयले साँचेको र असर्फी सदाले बाँचेको समयको अन्तर्य भित्रको कथा आफ्नै ब्यथा बनेर मुर्झाइरहन्छ जिन्दगी भरी । यतिबेला मधेसमा शीतलहर चल्ने बेला सुरु भएको छ । बर्सेनिजसो शीतलहर चल्छ अनि उनै गरिब असर्फी सदाहरूको चोला चुडालेर लैजान्छ र शीतलहरबाट मरेका मान्छेहरूको मृत्युमा समाज चुक्चुकाउँछ, बस !
मानवीय संवेदनाको घाँटी निमोठ्न एक हुल सुकिला डलरवालाहरू असर्फी सदाहरूको गाउँमा पदार्पण हुन्छन् । गाउँमा अँध्यारा निरासा बाँड्छ्न् । साथमा केही थान कपडा, केही थान बिस्कुट अनि केही थान आश्वासन बोकेर मधेस पुगेका उनीहरू, ठुल्ठूला ब्यानरमा ‘शीतलहर पीडितका लागि राहत हस्तान्तरण’ भन्दै केही थान तस्बिर कैद गर्छन् । सञ्चार माध्यममा समाचार बन्छ ‘मधेसमा शीतलहर कठ्यांग्रिएर । … को मृत्यु !
तर गरिबी र अभावले मर्नेहरूको कारण र त्यसको समाधान कसैले खोज्दैनन् । नाटकीय रोइलोको अनन्त अभ्यास प्रारम्भ हुन्छ । गरिब र गरिबीको पहिचान हुने खाले नीतिनिर्माणको लागि राज्यको उदासीनतामा थोरै नैवेद्य थपेरै भए पनि एउटा सजीव कार्ययोजना बनाइनुपर्छ भन्ने आममान्यता हो । युगौँदेखि हेपिएर र पेलिएर बसेको वर्गको लागि सोच्नुपर्ने समयको प्रतीक्षा गर्नेतर्फ लाग्नुभन्दा पनि एउटा युगान्तकारी परिवर्तनका लागि तयार रहन सक्नु समयको माग हो ।
देश बनाउँछु भनेर ठुल्ठूला भाषण गर्ने नेताहरू आफू बने तर, फेरिनुपर्ने वर्गको जीवन उस्ताको उस्तै छ । जीवनभर भोको पेट र नांगो खुट्टा बाँचिरहेको वर्गको मुक्तिका लागि वर्गसंघर्ष गरेका भनिएकाहरूको वर्तमान हर्कतका साक्षी पात्र असर्फी सदाहरूको अनन्त चित्कार र पुकारको पोयोलाई मालिंगोकोे चोयोले कसिलो बनाएर बाँट्नसके थोरै भए पनि राज्यको चौघेराभित्र जनअपेक्षा सिञ्चित हुन सक्ने थियो ।
सर्लाही
प्रतिक्रिया