सिरहा । थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।
सिराहाको धनगढीमाई नगरपालिकामा, थारु कल्याणकारिणी सभा धनगढीमाई नगरसमितिले पहुलका तिला संक्रान्ति उत्सव (माघी) २०८० मनाउने भएको छ ।
सभाले आज पत्रकार सम्मेलनमा तीस केजीको लड्डु प्रदर्शन गर्दै ‘थारु मौलिकता या पौराणिक कला संस्कृति उजागर करैके लेल’ मुख्य नारा सहित थारु कल्याणकारिणी सभा धनगढीमाई नगर समितिले पहिलोपटक धनगढीमाई वाडा नम्बर ११ आम चाेकमा पहुलका तिला संक्रान्ति उत्सव (माघी) २०८० मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको बताएका छ्न् । आज आयोजित पत्रकार सम्मेलनमा माघ १ गते हुने कार्यक्रममा थारु भाषा, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु भाषा, कला संस्कृति अन्तर्गत विभिन्न पौराणिक वस्तुहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रम समेत हुने बताएका छ्न् ।
पूर्व-पश्चिम राजमार्गको धनगढी बजारको केही पूर्वमा रहेको आम चौक स्थित हुन लागेको थारु कल्याणकारिणी सभाको पहिलो पटकको कार्यक्रममा करिब ५ हजारदेखि ७ हजारको हाराहारीमा आम जनसमुदायको सहभागिता हुने अनुमान गरिएको छ ।
कार्यक्रममा थारु समुदायको प्रमूख व्यक्तिहरूको समेत सहभागी रहने आयोजक समितिले जनाइएको छ । कार्यक्रममा संक्रान्तिको अवसरमा बनाइने पकवान अन्तर्गत ३० केजीको लड्डु बनाएर प्रदर्शनको तयारीमा एकातिर रहेको छ भने अर्कोतिर धनगढीमाई नगरपालिका भित्र करिब ८ वटा वडाका विभिन्न टोल बस्तीहरूमा रहेका थारु समुदायका सबैले आफ्ना जातिय परम्परा अनुसार पहिरनमा कार्यक्रममा सहभागी हुने र कार्यक्रममा थारु नृत्य, झाँकी, लगायतको अभिनय समेत गरिने बताइएको छ ।
प्रतिक्रिया