जनकपुरधाम । सप्ताहव्यापी कार्यक्रमको आयोजनासँगै यसवर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । आइतबार राती वैदिक परम्पराअनुसार प्रतिकात्मक भगवान् राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि सोमबार रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ५६ प्रकारका व्यञ्जनसहित भोजन ग्रहण गराई दक्षिणा दिएर बिदाइ गरिएको छ ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामकलेवाअन्तर्गत सोमबार सयौँ साधुसन्तलाई ५६ व्यञ्जनको भोजन गराइएको जानकारी दिए । उनकाअनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, बरी, अचार, मिठाइसहितका व्यञ्जन समावेश गरिएको थियो । साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ दासले जानकारी दिए । उनले भने, ‘जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ । त्यो चलनलाई निरन्तरता दिएका छौँ । दुई सयदेखि पाँच सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरियो ।’
एक सातादेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम आइतबार राती सीताराम विवाह सम्पन्न भएलगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् । विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैँटौँ दिन स्वयंवर र राती वैवाहिक कार्यक्रम तथा अन्तिम दिन सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।
रेल्वेसेवा विनातालिका सञ्चालन
सीताराम विवाहपञ्चमी मेलामा आएका श्रद्धालु भक्तजनलाई लक्षित गरी दुई दिन जनकपुरधाम जयनगर सेवा विनातालिका सञ्चालन हुने भएको छ । सोमबार बेलुकासम्मका लागि जनकपुरधामदेखि भंगहासम्मको रेल सञ्चालन सेवा पनि रेल्वे कम्पनीले स्थगित गरेको छ । कम्पनीका प्रवन्धक निरञ्जन झाले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा स्थगित गरेको जानकारी गराएका हुन् ।
‘विवाहपञ्चमी महोत्सव २०८० मा जनकपुर आउने र फर्कने तीर्थयात्रीहरूको अत्यधिक चापलाई मध्यनजर राखी मंसिर २ गते सोमबारका दिन सञ्चालनमा रहेका दुई वटै ट्रेन सेट जनकपुरधाम जयनगर खण्डमा विनातालिका सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ’, सूचनामा अगाडि लेखिएको छ, ‘मिति २०८०÷०९÷०३ गते बिहान भंगहाबाट जनकपुरतर्फ आउने रेल सेवा स्थगित गरिएको हुँदा यसबाट यात्रुमहानुभावहरूलाई पर्न जाने असुविधाको लागि क्षमापार्थी छाँै, साथै मिति २०८०÷०९÷०३ गते बेलुकादेखि जनकपुर भंगहा खण्डमा पूर्ववत नियमित रूपमा रेल सेवा सञ्चालन हुने व्यहोरासमेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’ भंगहादेखि जयनगरसम्म दिउँसो आउने र जाने गरी दुईपटक र जनकपुरबाट आउने जाने गरी चारपटक रेलसेवा नियमित सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया