२५ जोडीको सामूहिक विवाह

जनकपुरधाम । विश्व हिन्दू परिषद्ले सोमबार जनकपुरधाममा २५ जोडीको निःशुल्क सामूहिक विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको कलवार धर्मशालामा शुभविवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभविवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ । सामूहिक विवाहका लागि लगन आवश्यक नभएको कारणले विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते सहितका आवश्यक पर्ने सबै सामाग्री परिषद्ले निःशुल्क रूपमा उपलब्ध गराएको थियो । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनौट गरिएको थियो । विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको छ ।

विगत केही वर्षदेखि विश्व हिन्दू परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकालाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तले बताएका छन् । शुभ विवाहको कार्यक्रम सोमबार साँझदेखि कलवार सेवा आश्रममा हुने परिषद्का सहयोगी अमर श्रीवास्तवले जानकारी दिएका छन् । विवाह गर्न चाहने बेहुला बेहुलीको उमेर पुगेको हुनुपर्ने भएकाले उमेर खुलेको नागरिकता सहितको आवश्यक कागजपत्र पहिला नै संस्थाले माग गरेको थियो ।

प्रतिक्रिया