महोत्तरी । असई थमन विकको हत्या अभियोग प्रकरणमा महोत्तरी जिल्ला अदालतको आदेश विरुद्ध लोसपाले शनिबार सदरमुकाम जलेश्वरमा विरोध प्रदर्शन गरेको छ ।
२०७२ सालको मधेश आन्दोलनको क्रममा मारिएका शसस्त्र प्रहरी असई थमन विकको हत्या अभियोगमा लोसपाका महासचिव तथा पूर्व राज्यमन्त्री एवं संसदिय दलका नेता अभिराम शर्मा सहितका ७ जनालाई अदालतले सुनाएको जन्मकैदको फैसला मधेशीको विरुद्ध अन्यायपूर्ण फैसला भएको भन्दै जलेश्वरमा विरोध प्रदर्शन गर्दै सो फैसला उल्ट्याउन माग गरिएको छ ।
लोसपाले जलेश्वरमा सुक्रवार गरेको विरोध ¥याली पश्चातको कोणसभामा बोल्दै लोसपा नेताहरुले सो माग गरेका हुन् । उनीहरुले राजनीतिक मुद्दालाई मधेशबाट मधेशी दललाई समाप्त पार्न सरकारको सुनियोजित योजनो अनुसार अदालतको सो फैसला आएको आरोप लगाएका छन् ।
कोणसभामा बोल्दै लोसपाका केन्द्रिय उपाध्यक्ष रानी शर्मा तिवारीले केन्द्रमै समेत शिर्षनेताहरुको बैठक चलिरहेको बताउदै मधेशमा शनिबारबाट आन्दोलनको बिगुल फुकिसकेको बताइन् । उनले जन्मकैद सुनाइएका सवै सातजना मधेशी नेता मधेशको हिरो भएको बताउदै हरेक घरमा अभिराम शर्मा, सुरेश पाण्डेय र शंकर शाही जस्ता नेताले जन्म लिने बताइन् । उनले अदालतको फैसला नसच्याइए मधेशमा ठूलो आन्दोलन हुने र त्यसको क्षति सरकारले नै ब्यहोर्नु पर्ने चेतावनी दिइन् ।
यता पार्टीका केन्द्रिय महासचिव तथा पूर्व सांसद परमेश्वर साहले अदालतको अन्यायपुर्ण फैसलाको मधेशमा विरोध हुनेमा दुईमत नभएको बताए । उनले आन्दोलनको समय भएको र मृत्युलाई अदालतले हत्या भन्दा सोहि आन्दोलनमा सुरक्षाकर्मीबाट मारिएका आन्दोलनकारीको हत्याको इन्साफ समेत हुनुपर्ने माग गरे ।
शसस्त्र प्रहरी असई थमन विकको हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले फैसला सुनाउदै हाल पुर्पक्षमा रहेका प्रदीप साह माझी र संजयकुमार साहसहित लोसपाका जिल्ला समितिका मोहन ठाकुर, लोसपाका केन्द्रिय सदस्य तथा जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र, पूर्व राज्यमन्त्री तथा लोसपाका महासचिव अभिराम शर्मा, केन्द्रिय उपाध्यक्ष सुरेश पाण्डेय र जसपाका नेता धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३ (३) नं. बमोजिम कसुर गरेकोले सोहि १३(३) बमोजिम विहिवार जन्मकैदको फैसला सुनाएको छ । सोहि मुद्दामा ससदबाट निलम्बित रहेका लक्ष्मी महतो कोइरी र पुर्पक्षको लागि थुनामा रहेको पवन कापरलाई अदालतले अभियोग दावीबाट सफाई दिएको छ ।
जन्मकैदको सजाय तोकिएका सातजनालाई एम्बुलेन्समा आगलागी गरेको अर्को लगाउ मुद्दामा मुलुकी ऐन, आगो लगाउनेको महलको ४ नं. को कसुरमा सोहि ४ नं. बमोजिम जनही थप ६ महिना कैद र दश लाख क्षतिपुर्तिको फैसला गरिएको छ । उक्त क्षतिपुर्तिको रकम नेपाल सरकारलाई बुझाउनु पर्ने फैसला गरिएको श्रेस्तेदार नुतन शर्माले बताइन् ।
जिल्ला न्यायाधिश उद्धवप्रसाद भट्टराईको एकल इजलासले सो फैसला गरेको हो । यता अदालतको निर्णयको सासद लक्ष्मी महतो कोइरीले सम्मान सहित स्वागत गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै कोइरीले अदालतले न्यायपुर्ण फैसला सुनाएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
महाेत्तरी
प्रतिक्रिया