आफूले घर बनाउन सहयोग गर्दा आगलागी पीडितले उल्टै बदनाम गरे : अध्यक्ष अञ्जु झा

रौतहट । गैरसरकारी संस्था माण्डवीकी अध्यक्ष अञ्जु झाले रौतहटको माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका केही आगलागी पीडितहरुले आफू र आफ्ना संस्थालाई बदनाम गर्ने काम गरेको बताएकी छन् ।
आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट हुँदा पालमुनी बसिरहेका पीडितलाई घर बनाउन आफूले सहयोग गर्दा अरुको उक्साहटमा परेर पीडितहरुले आफ्ना संस्थालाई उल्टै बदनाम गर्न झुठा आरोप लगाएको अध्यक्ष झाले बताइन् ।

केही आगलागी पीडितहरुले मिडियामा आएर माण्डवीले आफूहरुको घर बनाउने जिम्मा लिए पनि घरको जग्ग वा फाउण्डेश्न मात्र खडा गरी अधुरै छाडेर फरार भएको हुँदा आफूहरु ठूलो विजोगमा परेको भनी उनीहरुले माण्डवी संस्थामाथि आरोप लगाएको थियो । तर शुक्रबार माण्डवीको कार्यालय गौरमा पत्रकारहरुसँग कुराकानी गर्दै माण्डवीकी अध्यक्ष झाले पीडितहरुले लगाएको उक्त आरोपमा कुनै सत्यता नरहेको बताएकी छन् ।

एनसेट नामक संस्थाको सहकार्यमा माण्डवीले २०७९ साल चैत्र २६ गते विशुनपूर्वा मानपुरमा आगलागीबाट क्षति भएका १७ जना घरपरिवारलाई तत्कालको लागि आवश्यक पर्ने अवास व्यवस्थापनाका लागि राहतको रुपमा आपतकालिन आवास निर्माण गर्नका लागि पीडित भनिएका १७ घरधुरीलाई तीन किस्तामा गरी १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने समझौता गरेको उनले बताइन् ।

आफूहरुले उनीहरु पालमुनी नबसेर तत्कालको लागि कम्तीमा छानाको घरमा बसोस भन्ने उद्देश्यले एक–एक कोठा भएको घर निर्माण गर्न तयार भए पनि पीडितहरुले हामी आफै घर बनाउँछौ बरु तपाईहरु हामीलाई १ लाख ५० हजार नगद नै उपलब्ध गराइदिनुस् भनी आग्रह गर्दा आफूहरुले १७ जना पीडितहरुलाई प्रतिव्यक्ति १ लाख ५० हजारको दरले बैंकमार्फत भुक्तानी गरिदिएको उनले बताइन् ।

१७ जना पीडितले नै आफ्नै राजीखुसीले आफैले घर बनाउने भनी माण्डवीसँग सम्झौता गरेको र पीडितसँग गरिएको समझौता अनुसार आफूहरुले प्रत्येक घरधुरीको खातामा तीन किस्तामा गरी १ लाख ५० हजार रुपैयाँ पठाइसकिएको उनले बताइन् ।

पीडितहरुको घर बनाउने जिम्मा आफूहरुले नलिएको भए पनि उनीहरुले आफूहरुको घर बनाउने जिम्मा लिएको भनी माण्डवीमाथि आरोप लगाई संस्थालाई बदनाम गर्न खोजेको उनको भनाई छ । पीडितहरुले आफै घर बनाउने सम्झौता गरे पनि अहिले घर बनाउन नसक्दा आफूहरुमाथि आरोप लगाउनु सरासर गलत रहेको उनले बताइन् ।

पीडितहरुले माण्डवीमाथि लगाएको उक्त आरोप गलत, झूठा, भ्रामक र कपोकल्पित रहेकोले उनीहरुको कुरामा विश्वास नगर्न उनले सबैलाई आग्रह गरिन् । आफूहरुले उनीहरुको घर बनाइदिने भनी कहीँ कतै कुनै निकायसँग कुनै प्रकारको सम्झौता नगरेको समेत उनले दाबी गरिन् । माण्डवीले उपलब्ध गराएको रकमबाट पीडितहरुले घरको जग्ग वा फाउण्डेश्न खडा गरिसकेका छन् ।

तर अब घरको बाँकी काम गर्न आफूहरुसँग पैसा नहुँदा अब घर कसरी बनाउने भनी उनीहरु चिन्तामा परेका छन् । अरु दातृ निकाय वा संघ संस्थाले सहयोग गर्ने आशमा पीडितहरुले घरको जग उठाए पनि अन्य कुनै व्यक्ति वा निकायबाट अझै सहयोग प्राप्त नहुँदा आफूहरुको घर कसरी निर्माण हुने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया