बारा । बाराको सिम्रौनगढ नगरपालिका– १ की २५ वर्षीया लक्ष्मी मुखिया बिनको मृत्युको विषयमा सिम्रौनगढ नगरपालिकामा शृजित गैरराजनीतिक गैर कानूनी अवस्थाको निराकरणको लागि विभिन्न पार्टीका सातदलका नगर अध्यक्षहरूले दोषी पत्ता लगाएर कारवाहीको माग गरेका छन् ।
यही मंसिर २७ गते मृत्यु भएकी लक्ष्मीको घटना दुःखद भएको भन्दैविभिन्न पार्टीका नगर अध्यक्षहरुले उक्त घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गर्दै शुक्रबार संयुक्त विज्ञप्ति निकालेर माग गरेका हुन् । उनीहरुले स्थायी समाधानको लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।
मृतक मुखियाको मृत्युप्रति हार्दीक श्रद्धाञ्जली व्यक्त गर्दै चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारमा गहिरो समवेदना विज्ञप्तिमार्फत प्रकट गरिएको छ । साथै उक्त विज्ञप्तिमार्फत सिम्रौनगढ नगरपालिकामा गैरकानूनी दादागिरी अवस्थाको अन्त्यगरियोस्, दुःखद घटना हुने वातावरण श्रृजना गराउनेको भूमिकाको जाँचबुझ गराइ दोषीमाथि कानूनी कारवाही गरियोस्, उपमेयरको सरकारी गाडीमा लाठी, भालादेखि हातहतियार ओसारपसार गर्ने तथा सो दिनको घटनामा आफ्ना मान्छेहरूबाट प्रहरी प्रसाशनमाथि प्रयोग गरिएकोले त्यस विषयमा पनि कानून अनुसार कारवाहीको माग गरिएको छ ।
पूर्वमेयरको उक्त घटनामा संलग्नताको अवश्यक अनुसन्धानको माग गर्दै पालिकामा कानूनी व्यवस्था कायम गरियोस् भन्नेलगायतको माग विज्ञप्तिमार्फत गरिएको छ । सो विज्ञप्तिमा नेकपा एमालेका नगर अध्यक्ष महेन्द्र प्रसाद जसवाल, नेकपा एसका नगर अध्यक्ष रमेश कुशवहा, नेकपा माओवादीका नगर अध्यक्ष श्यामकिशोर प्रसाद यादव, जसपाका नगर अध्यक्ष पन्नालाल कुशवहा, जनमत पार्टीका नगर अध्यक्ष विजय ठाकुर लोहार, लोसपा नेपालका नगर अध्यक्ष बिन्दालाल प्रसाद यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष साहेब अन्सारीले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति निकालेका हुन् ।
प्रतिक्रिया