११ हजार स्क्वायरफिटको राम र सीताको मूर्ति बनाइँदै

धनुषा । विवाहपञ्चमीका लागि जनकपुरधाममा बुधबारबाट ११ हजार स्क्वायर फिटको अन्नको मूर्ति निर्माण गरिँदै छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि प्रतिमा निर्माण गर्न लागिएको बृहत्तर जनकपुर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताए । उनका अनुसार स्वयम्बरको प्रतिक स्वरूप रामसीताको मूर्ति बनाउन लागिएको हो ।

यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८ सय स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराइसकेको छ । जनकपुरमा त्योभन्दा ठुलो मूर्ति बनाउन लागिएको र गिनिज बुकमा विश्व रेकर्डका लागि आफूहरूले दावी गर्ने साहले जानकारी दिए । मूर्ति निर्माणका लागि भारतको उत्तरप्रदेशबाट कालिगढहरू आएका छन् ।

७२ क्विन्टल अन्नबाट बन्ने मूर्ति निर्माणमा करिब २२ लाख खर्च हुने उनले जानकारी दिए । मूर्ति निर्माणमा चामल २५ क्विन्टल, गहुँ ६ क्विन्टल, सोयाबिन ६ क्विन्टल, चना १८ क्विन्टल, उरिद दाल १८ क्विन्टल, चना दाल, रहर दाल र मसुर दाल ४४ क्विन्टल, मकै तीन क्विन्टल, मुंफली दुई र मुंग दाल १२ क्विन्टल प्रयोग गरिनेछ ।

‘मूर्ति रंगरोगन गरिने छैन रंग अनुसारकै अन्नको प्रयोग गरिनेछ । विवाहपञ्चमी सकिएपछि अन्न पुनः प्रयोग गरिनेछ । कि त सहयोग गरेको गल्ला भण्डारले अन्न फिर्ता लिनेछ कि असहायहरूलाई त्यो अन्न दान गरिनेछ’, उनले भने । मूर्ति निर्माणका लागि जनकपुर उद्योग वाणिज्य संघ, बृहत्तर जनकपुर, यहाँका व्यवसायी, उपमहानगरपालिका लगायतले चन्दा सहयोग गरेको उनले जानकारी दिए । पुस १ देखि जनकपुरमा भव्य रूपमा विवाह महोत्सव मनाउने तयारी चलिरहेको छ ।

प्रतिक्रिया