मिशन ८४ देश बर्वादी हुनबाट जोगाउने महाअभियान हो : अध्यक्ष ओली

काभ्रे । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिशन ८४ मा देश बर्वाद हुन नदिन एमालेले महाअभियानको यात्रा तय गरेको बताएका छन् । उनले राष्ट्रिय हितको लागि नेकपा एमालले संकल्प यात्रा तय गरेको बताए ।

उनले विश्व मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकारको पक्षमा लाग्दै गर्दा कुनै पनि मानवताविरुद्धको गतिविधमा सम्झौता गर्न नसकिने बताए । झुलाघाटदेखि चिवाभन्ज्याङ्सम्मको समृद्धिका लागि संकल्प यात्रामा एघार दिने यात्रापछि काभ्रेको मण्डनदेउपुरको बृहत जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले एमालेको सरकार गएपछि देश अस्थिरता र अराजकतातर्फ धकेलिएको भन्दै यूवाहरु स्वदेशमा बस्ने वातावरण नहुनुमा सरकारको गतिविधिको कारण भएको जिकीर गरे । देशमा यूवाशक्तिलाई टिकाउन उद्यमशिलता, उन्नत कृषि, व्यवसायीकरण, विकासमूखी र प्रविधिको उच्चत्तम प्रविधिको प्रयोगले मात्रै सम्भव रहेको उनले बताए ।

अध्यक्ष ओलीले संकल्पको यात्रामा आएको स्थानीय जनसमुदायको मागपत्रमार्फत आएको सबै कुरालाई बृहत ढंगले छलफल गरी पूरा गर्नेतर्फ पार्टीपंक्ति लाग्ने बताए । ओलीले आफूले गरेको महत्वपूर्ण कामहरु स्मरण गर्दै सिँचाईको योजना, मेलम्चीको पानीदेखि यावत काम सम्पन्न गरिसकेको तर खानेपानीको काम अहिले थप्प हुनु दुःखद रहेको बताए ।

नेकपा एमालेले बितेको दिनमा साढे तीन वर्षको सरकारमा रहँदाको समयमा आफूले विकास निर्माणको विभिन्न खाका कोरेको, त्योमध्ये धेरै काम सम्पन्नसमेत गरेको अध्यक्ष ओलीले बताए । भूकम्पमा पुनः निर्माणको कामदेखि नयाँ रणनीतिक बाटोहरुलगायत चौतर्फी काम गरेको स्मरण गर्न आह्वानसमेत उनले गरेका छन् ।

उत्साहपूर्ण सहभागिताले १२औँ दिन अघिदेखिको यात्रामा घडीसँगै आफूहरु पनि हिँडिरहेको र हरेक जनताको सुझावहरु संकलन गरिरहेको अध्यक्ष ओलीले बताए । उनले एमाले कसैले रोकेर रोक्न नसक्ने, छेकेर छेक्न नसक्ने एक मात्रै देशको राष्ट्रवादी शक्ति भएकोसमेत दाबी गरे ।

उनले एमाले एक्लैसँग कुनै पनि दल एक्लै लड्ने आँटसमेत नरहेको बताउँदै मिशन ८४ ले देश बर्वादीको दिशाबाट फर्किने विश्वास राख्न सबैमाझ अपिल गरे । उनले यस अभियानले सिंगै पार्टी परिचालित भएको र यसबाट राजनीतिप्रति जनताको वितृष्णा र विश्वास कम भएकोप्रति लक्षित काम गर्ने अठोटसमेत व्यक्त गर्न अभियानले भूमिका खेलेको बताए ।

कार्यक्रममलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य, पूर्वसूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले अध्यक्षओलीले देशको भू–भाग र राष्ट्रियता जोगाउन खेलेको भूमिका बिर्सन कहिल्यै पनि जनताले नसक्ने र यो राष्ट्रियता बचाउने हरेक सवालमा ओली नेतृत्व अडिग र प्रतिबद्ध रहेको बताए । उनले विकास र समृद्धिको यात्राका नेकपा एमाले पार्टी लागिरहेको र त्यसमा सबै नेपालीले साथ दिएको औँल्याए । देशको विकास र निकास दिन केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया