एएफसी च्यालेन्ज कप छनोट प्रतियोगिता

काठमाडौं, २३ माघ । आसन्न एसियाली फुटबल महासंघ  (एएफसी) च्यालेन्ज कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय टिम तयारीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार दोस्रो चरणका रूपमा खेलाडी छनोट गरेको छ । राष्ट्रिय टिमका नवनियुक्त प्रमुख प्रशिक्षक ज्याक स्टेफानोस्कीले अन्तिम ३१ खेलाडीको छनोट गरेका हुन् ।

यस सूचीमा अमर डंगोल, अनील ओझा, अनिल गुरुङ, भरत खवास, भोला सिलवाल, विजय धिमाल, विजय गुरुङ, विकेश कुथु, विराज महर्जन, विक्रम लामा, विशाल राई ए, चेतन घिमिरे, दीपक राई र गणेश खड्का छन् । त्यस्तै, जगजित श्रेष्ठ, जितेन्द्र कार्की, जुमानु राई, किरण लिम्बू, नवयुग श्रेष्ठ, निराजन खड्का, रविन श्रेष्ठ, राजेन्द्र रावल, राजु तामाङ, रितेश थापा, रोहित चन्द, सविन्द्र श्रेष्ठ, सागर थापा, सन्दीप राई, सन्तोष साहुखल, सरोज दाहाल र सुलभ मास्केले पनि राष्ट्रिय टिममा पर्ने सम्भावना कायमै राखेका छन् । अमर, विजय (धिमाल), विक्रम, विशाल, राजेन्द्र, सरोज, गणेश, नवयुग, दीपक र सुलभ अहिलेसम्म राष्ट्रिय टिममा परेका छैनन् ।
स्टेफानोस्कीले पहिलो चरणमा ५० खेलाडी छानेका थिए । ‘हामीले अलिक कम खेलाडी छान्न खोज्यौँ तर फालिने खेलाडी छान्न गाह्रो भयो । सबै खेलाडी उत्तिकै राम्रा छन् । त्यसैले अझै केही समय हेर्नका लागि ३१ खेलाडी छनोट गरेका हौँ,’ स्टेफानोस्कीले भने ।
उनले पहिलो चरणको छनोटमा गणेश र चेतनलाई सुरुआतमा नबोलाइए पनि भर्खरै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको सिंगल चरणको अन्तिमतिर राम्रो प्रदर्शन गरेपछि उनीहरूलाई बोलाएका थिए । केही समययता राष्ट्रिय टिममा रहेका सुजल श्रेष्ठ भने दोस्रो चरणको छनोटबाट फालिएका छन् । नेपाल आर्मीका टंक बस्नेत, एपिएफका गणेश लावती पनि यस सूचीमा अटाउन सकेनन् ।
स्टेफानोस्कीले सबै खेलाडी चोटमुक्त रहेको बताउँदै आफूले अपेक्षा गरेभन्दा राम्रा खेलाडी पाएको बताए । उनले च्यालेन्ज कपका लागि नेपाल छनोट हुने पनि दाबी गरे । एएफसी च्यालेन्ज कपको छनोटअन्तर्गत समूह ‘डी’का खेलहरू आगामी दुई देखि ६ मार्चसम्म नेपालमा हुनेछन्, जसमा नेपालसहित प्यालेस्टाइन, बंगलादेश र नर्दर्न मारियाना आइल्यान्ड हुनेछन् । समूहको विजेता च्यालेन्ज कपका लागि छनोट हुनेछ भने पाँचवटा समूहबाट दुई बेस्ट सेकेन्ड पनि यस प्रतियोगितामा खेल्नेछन् । कुल आठ टोली रहने यस प्रतियोगितामा बाँकी एक टोली भने आयोजक नै हुनेछ ।
यिनै ३१ खेलाडीको सूचीबाट पाकिस्तानविरुद्ध घरेलु मैदानमा हुन लागेको मैत्रिपूर्ण खेलमा नेपाली टोलीले प्रतिनिधित्व गर्नेछ । २४ र २७ माघमा नेपाल र पाकिस्तानबीच हुन लागेको मैत्रिपूर्ण खेल च्यालेन्ज कप छनोटको तयारीका रूपमा लिइएको छ । स्टेफानोस्कीले पाकिस्तानविरुद्ध हुने मैत्रिपूर्ण खेल च्यालेन्ज कप छनोटका लागि राम्रो तयारीका रूपमा रहने बताए । ‘यसमा खेलाडीले आफ्नो क्षमता देखाउन पाउनेछन् । त्यसका आधारमा मलाई टिम बनाउन पनि सजिलो हुन्छ,’ उनले भने ।

प्रतिक्रिया