उदयपुर, २३ माघ । गाईघाटमा जारी दोस्रो उदयपुर गोल्ड कपको चौथो दिन आइतबार मोरङ–११ सितको खेलमा ३ का विरुद्ध ४ गोल गर्दै ललितपुरे क्लब थ्री–स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल सुरु भएको सातौँ मिनेटमा मोरङका लालबहादुर लावतीले पहिलो गोल गरे भने २५औँ मिनेटमा पारस लिम्बूले १ गोल थपी टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३६औँ मिनेटमा भिक्टोरले थ्री–स्टारको तर्फबाट खाता खोलेका थिए । लगत्तै तीन मिनेटमा (३९औँ मिनेटमा) मोरङका पारस लिम्बूले नै अर्को १ गोल थपेका थिए ।
दोस्रो हाफपछिको ३ मिनेटमै थ्री–स्टारका अनिल गुरुङले १ गोल गरेका थिए । सेकेन्ड हाफको १२ मिनेटपछि थ्री–स्टारका फेमीले १ गोल गरी खेल बराबरीमा पुर्याएका थिए । सेकेन्ड हाफको २२औँ मिनेटमा भिक्टोरले अर्को गोल थपी टिमलाई एक गोलले अगाडि पार्न सफल भए । पछि, भिक्टोर म्यान अफ द म्याच घोषित भए । सोमबारको खेलसँगै मोफसलका सबै चार टिम खेलबाट बाहिरिएका छन् ।
प्रतिक्रिया