सदनमा उठ्याे विद्यार्थीको उद्धारदेखि खाद्यान्न आपूर्तिको विषयमा सांसदहरुका आवाज

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सांसद बिजुला रायमाझीले नेपालमा उत्पादन हुने दूध, दूधजन्य पदार्थ र माछामा आत्मनिर्भर हुँदै भारतीय आयातालाई रोक्न तथा नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न माग गरिन् । उनले नेपाली किसानले उत्पादन गरेको दूध, माछालगायत बस्तुको उचित मूल्य निर्धारण गर्न र उखु किसानको समस्या समाधान गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सडक सुरक्षा परिषद् गठन गर्न माग

सांसद विद्या भट्टराईले सडक दुर्घटना नियन्त्रणका लागि छुट्टै नियमनकारी निकायका रुपमा सडक सुरक्षा परिषद् निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले विश्वमा अकाल मृत्युको आठ कारणमध्ये नेपालमा पहिलो कारण सडक दुर्घटना बनेको छ भन्दै यस्ता दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन योजना ल्याउन माग गरिन् ।

नेपालमा आव २०७९–८०को तथ्यांक अनुसार दुई हजार तीन सय २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको र २८ हजार एक सय ५६ घाइते भएका छन् । असुरक्षित मापदण्डविहीन सडक, सवारीसाधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरवाहीका कारण दुर्घटनाबाट नागरिकका जीवन क्षति हुनु एक नियति नै बनेको सांसद भट्टराईको भनाइ थियो ।

सांसद विनिताकुमारी सिंहले माइतीघर मण्डलामा आरती साहको न्यायको लागि संघर्षरतहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुशीला थिङले आरती साहको मृत्यु प्रकरण पेचिलो बन्दै गएको र मृतकका परिवारले न्याय पाउनुभन्दा उल्टै अन्यायमा परेकाले उक्त घटनाका सम्बन्धमा तत्काल छानबिन समिति गठन गर्न जोड दिइन् ।

सांसद बीना लामाले नजिकिएको तिहारमा चिनीको अभाव हुन नदिन र सुपथ मूल्यमा जनतालाई चिनी उपलब्ध गराउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली विद्यार्थीको उद्धार गर्न माग

सांसद विश्वप्रकाश शर्माले नेपाली विद्यार्थी विपीन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको र उनलाई कतार सरकारमार्फत कुरा गरेर उद्धार गर्न सकिने भएकाले यो प्रक्रियामा पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले भारत, बंगलादेश र भूटान तीन देशसँग निकट रहेको सीमानाका काँकडभिट्टामा पर्यटकको आवागमनलाई सहज बनाउनका लागि भारतसरकारसँग कुरा गरेर सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद श्यामकुमार घिमिरेले संसद्लाई प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

सांसद शान्ति विकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गरी कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद शिव नेपालीले देशभरका पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धन गरिनुपर्ने, व्यवसायमैत्री पर्यटकीय पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिए ।

सांसद शेरबहादुर कुँवरले हालैको असिना पानीले सुदूरपश्चिम भेगमा किसानले लगाएको बालिनालीमा क्षति पुर्याएकाले पीडित कृषकलाई राहत उपलब्ध गराउन माग गरे ।

सांसद शोभा ज्ञवालीले समाजमा गलत भ्रम फैलाउने तत्वलाई कानूनी दायरामा ल्याउन जोड दिइन् । सांसद सन्तोष चालिसेले बजेटमा व्यवस्था भएअनुरुप सडक र पुलपुलेसाको मर्मत प्रभावकारी हुन नसकेको गुनासो गरे ।

सांसद सरस्वती बजिमयले आरती साहको मृत्यु प्रकरणबारे छानविन गर्न, उनको न्यायका लागि कानूनी प्रक्रिया अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सरिता भुसालले नेपाली घिउको माग अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले निर्यात प्रवर्द्धनका लागि ध्यान दिन आग्रह गरिन् ।

सांसद शान्ति चौधरीले बजारमा चिनिलगायत खाद्यवस्तु अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुशीला श्रेष्ठले यही कात्तिक ६ गते भोजपुरको आमचोकमा दिपचन्द्र राईद्वारा सात वर्षीया बालिकाको बलात्कार र हत्या भएको, कात्तिक ८ गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ स्थित मुन्दु गाउँमा तीन जनाको सामूहिक हत्या भएकाले यस्ता घटनाको चाँडो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा त्यस्ता आपराधिक गतिविधि हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद हितराज पाण्डेले संसद्को दोस्रो अधिवेशन सकिँदै गर्दा आआफ्नो कामको समीक्षा गर्न जरुरी रहेको बताए । उनले गोरखाको च्याङ्लीमा कृषि क्याम्पस सञ्चालन गर्ने निर्णय लामो समयदेखि भए पनि अझै स्थापना नभएकामा चिन्ता व्यक्त गदै यसप्रति ध्यान दिन आग्रह गरे ।

सांसद सोविता गौतमले चाडपर्वको समयमा बजार व्यवसाय चलायमान नभएको, व्यवसायीले आफ्नो सामान बेच्न नसकेको र उपभोक्ताले महंगो सामान किन्न नसकेको अवस्थामा यसको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

बाराक्षेत्र पुग्ने सडक मर्मत गर्न माग

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको प्रसिद्ध मन्दिर बाराक्षेत्र मन्दिर पुग्ने सडक खण्डअन्तर्गत चतारा कोशी पुलदेखि मन्दिरसम्म करिब तीन किलोमिटर सडकको अवस्था दयनीय रहेकाले दर्शनार्थीलाई मन्दिर पुग्न निकै सास्ती भएकाले यथाशीघ्र सडक मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद कार्कीले नेपाल मात्र नभई छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य संख्यामा भक्तजन आउने गरेकोले उक्त क्षेत्रको सडक मर्मत गरी दर्शनार्थीलाई सहज आवतजावतको वातावरण बनाउन माग गरे ।

सांसद हरि ढकालले किसानले उत्पादन गरेको फूलको स्वदेशमै खपत र प्रवर्द्धनका लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसदहरु सुमना श्रेष्ठ, सुनिता बराल, सूर्य थापा, सूर्यप्रसाद ढकाल, हेमराज राई, सीताकुमारी राना, सोनु मुर्मुलगायतले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया