पोखरा, २१ माघ । पछिल्लो केही समयदेखि निरन्तर राम्रो लयमा देखिँदै आइरहेको ललितपुरे क्लब थ्री–स्टारले ११ औँ आहा रारा गोल्डकपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा आयोजक सहारा क्लबलाई १–० ले हराउँदै थ्री–स्टारले उपाधिमाथि हयाट्रिक गरेको हो । तेस्रोपटक उपाधि जित्दा भने थ्री–स्टारको प्रतिद्वन्द्वी विगतको भन्दा नितान्त फरक रह्यो । यसअघि दुवैपटक थ्री–स्टारले उपाधि जित्दा फाइनलमा काठमाडौंकै मनाङ–मस्र्याङ्दी क्लबलाई हराएको थियो ।
थ्री–स्टारलाई जित दिलाउने क्रममा अफ्रिकी मुलुक सिरालियोनका स्ट्राइकर फेमी जोसहवाले ८३औँ मिनेटमा निर्णायक गोल गरे । जीवन सिन्केमानको कर्नर किकमा वैकल्पिक खेलाडी अनिल गुरुङले प्रहार गरेपछि रिबाउन्डमा फेमीले अवसर पाएका थिए । अनिलको हेड फेमीले भेट्नुअघि सहाराका बुद्ध लामाले भेटे पनि बुद्धले क्लियर गर्न गरेको हेड क्रसबारमा लागेको थियो । त्यसपछि फेमीले अवसर पाएका थिए ।
थ्री–स्टारका प्रशिक्षक प्रदीप हुमागाईंले विपक्षी सहाराको मिडफिल्डलाई खुलेर खेल्न नदिनु नै सफलताको कारक भएको बताए । उपविजेतामा सीमित आयोजक सहारा क्लब पोखराका प्रशिक्षक किरण श्रेष्ठले रेफ्री र लायन्समेनको गलत निर्णयका कारण खेलमा पराजय भोग्नुपरेको बताए । निर्णायक गोलकर्ता फेमी अन्तिम समयमा दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाउँदै बाहिरिएका थिए । गोलको खुसीयाली मनाउने क्रममा अमर्यादित बनेकाले पहिलो पहेँलो कार्ड पाएका उनले खराब ट्याकलिङका कारण दोस्रो पहेँलो कार्ड पाएका थिए ।
थ्री–स्टार क्लबले यसअघि पाँचौँ र नवौँ संस्करणको आहा गोल्डकप उपाधि जितेको थियो । शनिबारको फाइनल विजेता थ्री–स्टारले ३ लाख ५१ हजार तथा उपविजेता सहाराले २ लाख एक हजार रुपियाँ पुरस्कार पाए । थ्री–स्टार जावलाखेललाई टाइब्रेकरमा पराजित गर्दै उपाधि होडमा आइपुगेको थियो ।
प्रतियोगितामा सहारा क्लबका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट गोलकिपरका साथै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै टिभिएस मोटरसाइकल र १० हजार रुपियाँसमेत पुरस्कार पाए । उत्कृष्ट प्रशिक्षकमा थ्री–स्टारका प्रदीप हुमागार्इं, उत्कृष्ट डिफेन्डर थ्री–स्टारका विष्णु सुनार, मिडफिल्डर थ्री–स्टारकै भिक्टर यमओई र उत्कृष्ट स्ट्राइकर सहाराका योना इलियास घोषित भए । यी सबैले १० हजार रुपियाँ पाए । थ्री–स्टारका फेमी सर्वाधिक गोलकर्ता हुँदै १५ हजार रुपियाँ पाउन सफल भए । यस्तै, प्रतियोगिताको फेयर प्ले टिम जावलाखेल युथ क्लब बन्न सफल भयो ।
नेपाली फुटबलका अफ्रिकी नायक
पोखरा : चालु सिजनकै नेपाली फुटबलका एक्ला नायक बने फेमी जोसहवा । सिरालियोनका यी स्ट्राइकर फेमी नेपाली फुटबलमा सर्वाधिक सफल खेलाडीका रूपमा देखिएका छन् । ‘ए’ डिभिजन लिगमा थ्री–स्टार संकटमा परिरहेको समयमा टोलीमा आबद्ध भएका यिनी फ्रेन्ड्स क्लबसँग भएको खेल खेल्न काठमाडौं आइपुगेका थिए । यसअघि कमजोर सुरुआत गरेको थ्री–स्टार तेस्रो खेलमा पनि बराबरीतर्फ उन्मुख भएको थियो । फ्रेन्ड्स क्लबसँग भएको खेलमा फेमीले ३५ यार्डबाट गरेको गोलकै कारण थ्री–स्टार विजयी भयो ।
त्यसपछि हरेक खेलमा लामो रेन्जबाट परफेक्ट सर्ट प्रहार गर्नु, बलमा नियन्त्रण राख्नु, सटिक पास दिनु र टिम भावना बुझ्नु फेमीका विशेषता रहे । उनी आरसिटीसँगको खेलमा जम्न नसक्दा थ्री–स्टार पराजित भएको थियो । फेमीकै उत्कृष्ट प्रदर्शनका कारण लिगको पहिलो चरणमा थ्री–स्टारले सात अंकको अग्रता कायम गर्यो भने आहा गोल्डकपमा पनि उनै फेमी शीर्ष गोलकर्ता भए । थ्री–स्टारका आठ खेलाडी राष्ट्रिय टोलीको बन्द शिविरमा रहँदा फेमीकै उत्कृष्ट प्रदर्शनमा थ्री–स्टारले उपाधि जितेको हो । आहाको उपाधि जित्ने क्रममा उनले सेमिफाइनल र फाइनलमा गोल गरे ।
प्रतिक्रिया