आहा फाइनलमा थ्री–स्टारविरुद्ध सहारा

threes-starपोखरा, १९ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ट्राइबेकरको सिकार बनाउँदै पोखरामा जारी ११औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लब फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रगंशालामा भएको दोस्रो सेमिफाइनलमा सहाराले विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै पहिलोपटक उपाधिका लागि दह्रो दाबेदारी प्रस्तुत गरेको हो । सहाराले शनिबार थ्री–स्टार क्लबसँग उपाधि भिडन्त गर्नेछ । यसअधि सहाराले क्वार्टरफाइनलमा मनाङलाई टाइब्रेकरमा ४–१ ले पराजित गदै सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले आरसिटीलाई पराजित गरेको थियो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एक सय २० मिनेटसम्म गोलरहित खेलेको आर्मीले टाइब्रेकरमा दुई पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा तेस्रोपटक पनि उपाधि उचाल्ने आर्मीको सपना चकनाचुर बन्न पुग्यो भने आयोजक सहारा क्लब पहिलोपटक फाइनलमा प्रवेश गर्‍यो ।
सहाराका गोलरक्षक अजित प्रजापतिले आर्मीका सन्तोष नेपाली र दीप लामाको पेनाल्टी प्रहार बचाउ गरेपछि आयोजक सहाराको फाइनल प्रवेशको ढोका खुलेको थियो । आर्मीका लागि गंगाराम देउजा र टेकबहादुर बूढाथोकीले गोल गरेका थिए । आयोजक सहाराका लागि टिम क्याप्टेन आदर्श शाही, बुद्ध लामा, ओलावाले उसमान र जय थापाले पेनाल्टीमार्फत गोल गर्दै सहाराका लागि फाइनलको इतिहास रचेका हुन् ।

प्रतिक्रिया