उदयपुर : आगामी शुक्रबारदेखि सुरु हुने दोस्रो उदयपुर गोल्ड कप फुटबल प्रतियोगिता ०६९ को तयारी अन्तिम चरणमा पुगेको छ । १९ देखि २६ माघसम्म सञ्चालन हुने गोल्डकपको प्रचारप्रसार, रंगशाला व्यवस्थापन, आवासलगायतका कुराहरू अन्तिम चरणमा पुगेको मूल आयोजक कमिटीका संयोजक किरण राईले जानकारी दिए । राईका अनुसार, प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भइसकेको छ ।
एक सातासम्म सञ्चालन हुने प्रतियोगिता उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्च माविको मैदानमा सञ्चालन हुनेछ । त्यसका लागि मैदान सरसफाई, सजावट र स्टेज निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि आवश्यक स्वास्थ्यकर्मी, सहभागी खेलाडीलाई आवास लगायतका कुरासमेत व्यवस्थापन गरिसकिएको छ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । डिफेन्डिङ च्याम्पियन थ्री–स्टारसहित हिमालयन शेर्पा, नाइट चेस क्लब झापा, राष्ट्रिय जागृति क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) लगायतका टोली सहभागी हुने आयोजकले जनाएको छ । जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाको संयोजन तथा जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका विजेतालाई एक लाख ५० हजार र उपविजेतालाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया