काठमाडौं : आयोजक बाबा बोर्डिङ स्कुल सातौँ बाबा अन्तरस्कुल बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । चाबहिलको मोतीचोकस्थित घरेलु कोर्टमा बाबाले मल्पीलाई ३४–४ ले सजिलै हरायो । बाबाको जितमा निराकर बजिमयले १४ अंक योगदान गरे । जुनियर ब्वाइजकै अन्य खेलमा महामञ्जुश्रीले एलआरआईलाई ३०–१५, गौरीशंकरले निम्सलाई २९–१९ तथा न्यु स्राइनले इनोभेटिभलाई ३१–२९ ले पराजित गरे ।
सिनियर ब्वाइजमा बाबाले टिआइएलाई ५०–१६ को भारी अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो । बाबाका विशाल रञ्जितले २२ अंक जोडे । सिनियर ब्वाइजकै अन्य खेलमा ड्याफोडिलले कान्जिरोवालाई ३०–१२ तथा एलआरआईले विल्सन एकेडेमीलाई ६१–५७ ले पन्छाए । पेनउडले स्वाती सदनलाई ३०–२० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गर्यो । अन्य खेलमा ड्याफोडिलले कान्जिरोवालाई १६–१०, एचएचसिएले सिद्धार्थ वनस्थलीलाई २१–६ तथा निम्सले अल्पाइन भ्यालीलाई २१–१५ ले निराश पारे । (सौस)
प्रतिक्रिया