पोखरा १७, माघ । सावित विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै पोखरा रंगशालामा जारी ११औँ आहा रारा गोल्डकपमा आयोजक सहारा क्लब सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा मनाङको चुनौतीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पन्छाउँदै सहारा मनाङविरुद्ध पहिलो जितसहित अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित तथा अतिरिक्त समयको खेल २–२ ले बराबरी भएपछि निर्णयार्थ टाइब्रेकरमा पुगेको थियो । पेनाल्टीमा सहाराका लागि सर्वाधिक रोजाइका विदेशी खेलाडी योना एलिआस, माइकल, ओलावाले उस्मान र राजन अधिकारीले गरेको प्रहार गोलमा परिणत भयो भने मनाङका दुई खेलाडी चुके । मनाङका नवीन न्यौपाने र सल्यान खड्कीले गोल गर्न नसक्दा मनाङ स्तब्ध हुन पुगेको हो ।
सहाराका लागि खेलको ३३औँ मिनेटमा ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्तासमेत रहेका योनाले गोलको खाता खोलेका हुन् । १–० ले अग्रता लिए पनि मनाङले खेल उल्टाउँदै पहिलो हाफमै २–१ को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफमा सहाराले खेल बराबरीमा ल्याएको थियो । दोस्रो हाफमा मनाङका मिले स्टेफेन दोहोरो पहँेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
दुवै टिमले गोलका थुप्रै अवसर खेर फालेका थिए । घरेलु टिमले अग्रता लिँदा योनाले भुपाल गुरुङको पासमा गोल गर्न सफल भएका हुन् । यद्यपि, सहराको अग्रता धेरै बेर टिकेन । मनाङले सात मिनेटमै खेल बराबरीमा ल्याउन सफल भएको थियो । सहारालाई सेमिफाइनलमा समस्या पर्ने देखिएको छ ।
कप्तान आदर्श शाही, योना र माइकल कार्डका कारण सेमिफाइनल भिडन्तमा हुने छैनन् । रेफ्री लव खत्रीले स्टेफेनलाई दिएको दोस्रो कार्डका विषयमा भने मनाङका प्रशिक्षक कृष्ण थापाले असन्तुष्ट देखिए । साथै उनले खेलाडीले सेल्फिस खेलेको पनि जिकिर गरे । नौ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेपछि मनाङ दोस्रो रोजाइका खेलाडीसाथ पोखरा पुगेको थियो । यसैकारण आठ खेलाडीलाई गुमाएको थ्री–स्टार भने सेमिफाइनल पुगिसकेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणमा सानदार प्रदर्शन गरेका एलिआसलगायत खेलाडीलाई भित्र्याएको सहाराले यस प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा उसले बलियो प्रतिद्वन्द्वी मच्छिन्द्रलाई पराजित गरेको थियो । प्रतियोगिताका सेमिफाइनल खेलहरू बुधबारदेखि सुरु हुनेछन् । बुधबार हुने पहिलो सेमिफाइनलमा थ्री–स्टार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा सहाराले नेपाल आर्मीको सामना गर्नेछ । क्वार्टरफाइनलमा आर्मीले नेपाल पुुलिसलाई पराजित गरेको थियो ।
प्रतिक्रिया