फिदिम नगरपालिका– २ द्वारा उन्नत जातका बिउ राँगा र गोरु वितरण

पाँचथर । फिदिम नगरपालिका– २ ले वडाको ८०–८१ को बजेटमार्फत पशुपालनअन्तर्गत उन्नत जातका बिउ गोरु र राँगा वितरण । उन्नत जातका बिउ गोरु र राँगाबाट दूध उत्पादनमा वृद्धि हुने भएकाले वडाको बजेटबाट खरिद गरी वितरण गरिएको वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार राँगा र गोरु खरिद ढुवानी भाडा गरी एक थान मुर्रा राँगालाई ९० हजार, त्यस्तै उन्नत जातका एक थान होलेष्टिन गोरुलाई ९५ हजार मा खरिद गरिएको छ । उक्त गोरु पाल्न फिदिम ताल खर्कका रामप्रसाद मैनालीलाई र मुर्रा राँगा ओदिनका नरेन्द्र सुब्बालाई वितरण गरिएको वडाध्यक्ष अधिकारिले बताए ।

त्यस्तै वडाले करेसाबारीका लागि एक घर एक परिवारलाई ६ सय बराबरको अनुदान तरकारीका बिउ वितरण गरिरहेको छ । व्यवसायीकरुपमा तरकारी खेती कृर्षकलाई दर्ता प्रमाणपत्र अनुसार २ हजार रुपैयाँ अनुदानको बिउ दिएको बताइएको छ ।

वडाले वडाभित्र लम्पी स्किन रोगले मरेका पशु किसानलाई राहतस्वरुप २ हजारदेखि १० हजार रुपैयाँसम्म दिने वडाले निर्णय गरेको अधिकारीले बताए ।

प्रतिक्रिया