चुलाचुलीका ३८ सिमल तरुल कृषकलाई १२ लाख २४ हजार अनुदान

इलाम । इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० मा सिमल तरुल (कन्दमुल) उत्पादनका लागि कृषकहरुलाई १२ लाख २४ हजार दुई सय ९३ रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

चुलाचुली गाउँपालिका कृषि विकास शाखाबाट संचालित सशर्त अनुदान कार्यक्रमतर्फ शहरी क्षेत्र लक्षित तरकारी उत्पादन अभिवृद्धि कार्यक्रम अन्तरगत सिमल तरुल उत्पादन कार्यक्रम संचालन गर्न अनुदान उपलब्ध गराएको हो ।

चुलाचुली गाँपालिकाका वडा नं. १, २, ३, ४ र ५ का ३८ कृषकलाई १९ बिगा १३.६ कठ्ठा जग्गामा सिमल तरुल खेती गरेबापत ५० प्रतिशत साझेदारीमा अनुदान उपलब्ध गराएको कृषि विकास शाखा प्रमुख अनिल तिमल्सिनाले जानकारी दिए ।

कार्यक्रमका लागि २४ लाख ४८ हजार पाँच सय ८५ रुपैयाँ बराबरको लागत स्टिमेट तयार भएकोमा ५० प्रतिशत सम्बन्धित कृषकको लागत साझेदारीमा कार्यक्रम संचालन गर्ने गरी गाउँपालिकाले १२ लाख २४ हजार दुई सय ९३ रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।

कृषि विकास शाखाले अनुदानका लागि प्रस्ताव आह्वान गरेको निर्धारित समयमा प्रस्ताव पेश गरेका सबै ४८ वटै कृषक समूह–कृषि फर्म–कृषकहरुको प्रस्ताव स्वीकृत गरेकोमा प्रक्रिया पूरा गरी भुक्तानी माग गर्न आउका ३८ जनालाई अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिकाले प्रतिकठ्ठा जग्गामा सिमल तरुल खेती गरेवापत कृषकलाई छ हजार दुई सय २१ रुपैयाँको लागत स्टिमेट तयारी गरी ५० प्रतिशत रकम अनुदान उपलब्ध गराएको हो । कार्यक्रमअन्तर्गत वडा नम्बर १ मा ६ कृषकलाई १ बिगा ३ कट्ठा जग्गामा खेती गरेबापत ७१ हजार पाँच सय ४२ रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

वडा नम्बर २ मा १२ जना कृषकलाई ६ बिगा १.६ कठ्ठा जग्गामा सिमल तरुल खेती गरेबापत तीन लाख ७८ हजार दुई सय ३६ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । वडा नं. ३ मा १२ जना कृषकलाई ४ विगा १९ कठ्ठा जग्गामा सिमल तरुल खेती गरेबापत तीन लाख सात हजार ९ सय उन्चालिस रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

सो वडामा २० जना कृषकको प्रस्ताव स्विकृत भएकोमा ८ जनाले भुक्तानीका लागि आवश्यक प्रक्रिया पूरा नगरेको कृषि विकास शाखा प्रमुख तिमल्सिनाले जानकारी दिए । वडा नम्बर ४ मा २ जना कृषकलाई ४ बिगा १० कठ्ठा जग्गामा सिमल तरुल खेती गरेबापत दुई लाख ७९ हजार ९ सय ४५ रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

सो वडामा १ कृषक समूह र ३ कृषकको प्रस्ताव स्विकृत भएकोमा २ जनाले मात्र भुक्तानीका लागि आवश्यक प्रक्रिया पूरा सोही बमोजिम अनुदान भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ५ मा ६ जना कृषकलाई ३ बिगा जग्गामा सिमल तरुल खेती गरेवापत एक लाख ८६ हजार छ सय ३० रुपैयाँ अनुदान उपलब्ध गराएको छ । ६ वटा वडा रहेको चुलाचुलीको वडा नं. ६ पहाडी क्षेत्र रहेकाले सो कार्यक्रम संचालनमा छैन । कार्यक्रम संचालनमा नरहेकाले सो वडाका कृषकले अनुदान पाएनन् ।

अनुदानप्रति स्थानीयको गुनासो

यसैबिच अनुदान वितरण पारदर्शी नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । अनुदान दिँदा सामान्य अनुगमन समेत नगरी वडा कार्यालयले सिफारिस दिएको र सोही सिफारिसको आधारमा कृषि विकास शाखाले समेत अन्धाधुन्ध रकम निकासा गरेको वडा नं. ४ का कुमार राईको आरोप छ ।

गाउँपालिकाले अनुगमन नै नगरी पार्टीगत रुपमा पूर्वाग्राही ढंगले अनुदान वितरण गरेको राईको आरोप छ । सिमल तरुल खेतीमा संलग्न नै नभएकालाई समेत अनुदान उपलब्ध गराएको राईको आरोप छ । तर उनले सिमल तरुल खेती नगरेका को–को कृषकले अनुदान पाए भन्ने चाँही यकिनका साथ भन्न सकेनन् ।

यता कृषि विकास शाखाले भने पारदर्शी रुपमा सबै प्रक्रिया पूरा गरेर नै अनुदान भुक्तानी दिएको दावी गरेको छ । अनुदानका प्रस्ताव आह्वान गरेको र निर्धारित समयमा प्रस्ताव पेश गरेका कृषकहरुलाई नै अनुदान उपब्ध गराएको कृषि विकास शाखा प्रमुख अनिल तिमल्सिनाले बताए ।

‘हामीले आह्वान गरेको प्रस्ताव बमोजिम निर्धारित समयमा प्रक्रिया पूरा गरेका आएका सम्पूर्ण कृषकहरुलाई अनुदान उपलब्ध गराएका छौँ’, कृषि विकास शाखा तिमल्सिनाले भने, ‘प्रक्रिया पूरा नभएका कृषकहरुलाई कार्यक्रममा सहभागी गराउन सम्भव हुँदैन ।’ सिमल तरुल उत्पादन कार्यक्रमका लागि चुलाचुलफमा संघीय सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको थियो ।

जसमध्ये ४० लाख रुपैयाँ संघीय सरकारले नै फिर्ता लगेको र बाँकी स्थानीय सहकारीहरुसँग सहकार्य गरेर सिमल तरुल उद्योग संचालन गर्ने भनिएको थियो । तर, अन्तिम अवस्थामा सहकारीहरुसँग सहकार्य नभएका कारण ५० साझेदारीमा कृषकलाई अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले सिमल तरुल उद्योग संचालनका लागि आएको भएपनि उद्योगका लागि मेसिन खरिद गर्न बजेट अपुग भएका कारण फिर्ता जाने अवस्थामा पारदर्शी रुपमा अनुदान दिएर कृषकसम्म पुर्याएिको बताए ।

‘कसैले झुटो विवरण देखाई अनुदान लिएको छ भने पुन अनुगमन गरेर सो बजेट फिर्ता गराउन स्थानीय सरकार तयार छ’, गाउँपालिका अध्यक्ष केरुङले भने, ‘हामीले गरेको जनमुखी कामबाट त्रसित विपक्षीहरुले पूर्वाग्राही रुपमा अफवाह फैलाएको हुनसक्छ ।’

प्रतिक्रिया