प्रकृति पर्यटन र समृद्ध रुकुम

रुकुम पश्चिम । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको रुकुम जिल्लामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा परेका छन् ।

स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुन थालेको छ । १ हजार २ सयदेखि तीन हजार मिटर उचाइसम्म रहेको रुकुम पश्चिम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । प्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि यहाँका स्थानीय सरकारले सक्रियता देखाउन जरुरी छ ।

कर्णाली प्रदेशमा पर्नेे रुकुम दुबै रुकुम एक भएको बेला यस जिल्लालाई ५२ पोखरी ५३ टाकुरीको जिल्ला भनेर चिनिन्थ्यो । तर, संघीयतापछि रुकुम पुर्व र रुकुम पश्चिम नामाकरण सहित दुई जिल्ला विभाजन गरिएको छ । यहाँ ताल तलैया, पोखरी र हिमालजस्ता प्राकृतिक सम्पदाले भरिपूर्ण रुकुम घुम्न हेर्न लायक ठाउँ हो । नेपालभित्र घुम्ने इच्छा भएका पर्यटकहरूलाई यो उपयुक्त गन्तव्य हुनसक्छ । यहाँको मुख्य आकर्षण भनेको स्यार्पु ताल, सिस्ने हिमाल, मौराखारा, खारा, डिग्रे मन्दिर र गोतामकोट रहेका छन् ।

भर्जिन पिकको रूपमा रहेको रुकुम पुर्वमा पर्ने सिस्ने हिमाल मनमोहक छ । जसलाई नजिकैबाट नियाल्न सकिन्छ । यहाँको ग्रामीण जीवनशैली, रहनसहन, परम्परा पनि थप आकर्षण हुन् । रुकुम पुग्नको लागि पूर्व पश्चिम राजमार्ग हुँदै दाङको लमहीबाट छुट्टिएर बस या निजी सवारी साधनमा घोराही तुलसीपुर हुँदै रुकुम सदरमुकाम मुसिकोट पुग्न सकिन्छ । हवाई मार्गबाट हो भने, काठमाडौंदेखि मुसिकोट सल्लेसम्मको उडानमा यात्रा तय गर्न सकिन्छ ।

त्यहाँबाट गाउँगाउँ जाने जिपको यात्रामा गन्तव्यमा पुग्न सकिन्छ । त्यस्तै नेपालगञ्जबाट हवाई यात्राबाट पनि सदरमुकाम पुग्न सकिन्छ । यस अवधिको यात्रामा खाना बस्नको सहज सुविधा मात्र होइन, तुलनात्मकरूपमा सुलभ पनि पाइन्छ । प्राकृतिक सुन्दरता, शान्त र स्वच्छ वातावरणका कारण यहाँको जनजीवन हेर्न जान चाहनेका लागि रुकुम पश्चिम नजिकको पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । खेतबारीमा प्रशस्त बालीनाली देखिने, वरिपरि अग्लाअग्ला पहाड, तल कलकल बगेको सानीभेरी, ठूलो भेरी नदी यहाँका रोमाञ्चक दृश्य हुन् ।

रुकुम ५२ पोखरी र ५३ टाकुरीको नामले परिचित जिल्ला हो । बिशेषगरी ५२ पोखरी र ५३ टाकुरी टुक्रिएको रुकुम पूर्वको रुकुमकोट क्षेत्रमा पर्छ । संघीयता पश्चात रुकुमलाई विभाजन गरियो । विभाजनसँगै जिल्लाको ५२ पोखरी ५३ टाकुरीको चर्चा कम हुँदै गएको छ । जिल्लाका विभिन्न ठाउँमा धेरै स–साना पोखरी र टाकुराहरू छन् । जसको कारण रुकुम आफ्नै विविधतामा छ । रुकुम पश्चिम पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकोले आर्थिक विकासमा पर्यटन क्षेत्रले धेरै सहयोग पुग्ने देखिन्छ ।

नेपालमा पर्यटन क्षेत्रको विकासका लागि संरचनागत र नीतिगत व्यवस्था गरिएको छ । नेपालको संविधानमा राज्यका नीति र निर्देशक सिद्धान्तले पर्यटन विकासको संकल्प गरे अनुसार रुकुमलाई समृद्ध र दिगो विकासका रूपमा चिनाउन यहाँका विविध पक्षको संरक्षण, पुनः निर्माण गर्नुपर्ने देखिन्छ । पर्यटन क्षेत्रलाई बलियो बनाएर अगाडी बढ्ने हो भने रुकुममा थुप्रै सम्भावनाहरू छन् । ऐतिहासिक मुसिडाँडा, प्रसिद्ध डिग्रे शाहीकुमारी, मौराखारा, जन्तिधारा, युद्धभुमी खारा, चित्रीपाटन, स्यार्पु ताल लगायतका क्षेत्रहरू पर्यटन प्रवर्धन र पर्यटन विकासका लागि उपयुक्त छन् । सानी भेरीबाट विद्युत् तथा लिफ्टिङमार्फत सिँचाइ र ऐतिहासिक क्षेत्रहरूमा पदमार्ग निर्माणगर्ने हो भने समृद्ध रुकुम व्यवहारमा नै सम्भव छ ।

पछिल्लो समय गोतामकोटको चित्रिपाटन, आठबिसकोट–३ मा रहेको झारमारे, मुसिकोट स्थित मुसिडाँडा, बाँफिकोटको स्यार्पुताल आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्दै गएको छ । माओवादीले सञ्चालन गरेको युद्धको आधार इलाका भएको रुकुममा माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेष अहिले यहाँका पर्यटकीय स्थलको आकर्षणका केन्द्र बनेका छन् । पर्यटनको सम्भावना बोकेका क्षेत्रहरूमा सामुदायिक होमस्टे र स्थानीय वासिन्दाको व्यवस्थापनमा पर्यटनको केन्द्र बनाउन सकिन्छ । पर्यटकीय स्थललाई प्रोफाइलसहित प्रचार प्रसार गर्ने हो भने बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । पर्यटन नै समृद्धिको मेरुदण्ड भएकाले यहाँका सरोकारवाला निकायले यसतर्फ ध्यान दिन जरुरी छ । चित्रिपाटन सम्मको पदमार्ग निर्माण, झारमारे सेफोक्सुण्डो पर्यटन पदमार्ग, स्यार्पु तालसम्म पुग्ने सडक मर्मत, सानी भेरीदेखि मौराखारा हुँदै रातामाटा सम्मको ट्रयाग खोल्न सके बाह्य पर्यटकका लागि आकर्षणको विन्दु बन्नेछ ।

स्थानीय भेषभुषा र पौराणिक तथा आधुनिक जीवन शैलीलाई जोगाउँदै रुकुमको पहिचानलाई व्याप्त पार्न सके रुकुमको पर्यटन क्षेत्रमा थप टेवा मिल्छ । म्याप सहितको पर्यटन सुचना केन्द्रको व्यवस्था र पुर्वाधार, यातायात अन्तर्गत राप्ती लोकमार्ग र मध्यपहाडी लोकमार्गले छोएको रुकुमलाई पुर्वाधारसँगै यातायात व्यवस्थापनमा अझै समस्या छ । ग्रामीण क्षेत्रमा बाह्रै महिना चल्ने सडक र बजार क्षेत्रमा अव्यवस्थित रूपमा चल्ने यातायातलाई व्यवस्थित बनाएर जिल्ला भर इन्धनको मुल्य तोकेर तोकिएको क्षेत्रबाट सवारी आवतजावत गर्न लगाउन सके पर्यटकका लागि सजिलो हुनेछ ।

गोतामकोटमा गौतमहरूको उद्गमस्थल, अत्रि ऋषिको आश्रम, मालिका मन्दिर, चित्रिपाटन, बिजारे, प्रसिद्ध शाहीकुमारी मन्दिर स्यालाखदी, शाहीकुमारी मन्दिर आठविसकोट, रिम्ना धार्मिक मन्दिर, लाता मन्दिर, लगायत पर्यटकीय क्षेत्र रहेका छन् । तर, यी सबै स्थान उचीत प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन् । यिनिहरूको प्रवर्धनसँगै प्रचार गरे यहाँको आर्थिक तथा सामाजिक विकासमा महत्तवपूर्ण सहयोग पुग्छ । यहाँको पर्यटनको प्रचुर सम्भावनाको अवसरलाई समग्र जिल्लाको आर्थिक पाटोमा कसरी बदल्ने र ग्रामीण जीवनयापनसँग कसरी जोड्ने भन्ने बिषयमा स्थानीय सरकारदेखि केन्द्र स्तरसम्म सम्बोधन गर्नुपर्ने हुन्छ ।

रुकुमको बिविध हावापानी, जनजीवन, रहनसहन, भौगोलिक अवस्था, स्थानीय अर्गानिक खाना, सास्कृतिक सम्पदालाई प्रचार प्रसार गर्ने हो भने यसले यहाँको पर्यटन बिकासका साथै स्थानीयको आर्थिक जीवनमा सहयोग पु¥याउनेछ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया