धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको पनि प्रभाव

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवाका किसान खेतमा धान रोप्न बीउ काढ्दै । मानो रोपेर मुरी उब्जाउने समय भएकाले बर्खायाममा किसान बढी खेतबारीमा व्यस्त हुने गर्छन् । तस्विर हुमाकान्त पोखरेल, रासस

काठमाडौं । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया