धनगढी । सुदूरपश्चिम प्रदेशमा ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशभरी ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ७५ हजार ७ सय ६३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा हालसम्म ८६ हजार ७३ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनायका सूचना अधिकारी केशवराज पाण्डेयले जानकारी दिए ।
कृषि विकास निर्देशनालयका अनुसार डडेल्धुरामा धान रोपाइँ हुने कुल क्षेत्रफल ६ हजार १ सय २० हेक्टर रहेकोमा ३ हजार ६० हेक्टरमा, दार्चुलामा ४ हजार ४ सय ८० हेक्टरमध्ये ३ हजार ९ सय ८७ हेक्टरमा र डोटीमा ६ हजार ४ सय २६ हेक्टरमध्ये ३ हजार ८ सय ४७ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।
त्यस्तै अछाममा १६ हजार ५ सय ९० हेक्टरमध्ये ११ हजार १ सय १५ हेक्टरमा, बझाङमा १० हजार ३ सय हेक्टरमध्ये ७ हजार ७ सय २५ हेक्टरमा र बाजुरामा ६ हजार ९ सय १५ हेक्टरमध्ये २ हजार ७ सय ६६ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयको तथ्यांक छ ।
त्यस्तै कैलालीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ६७ हजार ४ सय ३६ हेक्टर रहेकोमा २६ हजार ९ सय ७४ हेक्टरमा, कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टरमध्ये १९ हजार ३ सय ९८ हेक्टरमा र बैतडीमा ९ हजार हेक्टरमध्ये २ हजार ७ सय ६६ हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको जनाइएको छ ।
पहाडी जिल्लाहरूमा आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँहरू पनि भएकाले रोपाइँमा केही ढिला भएको सूचना अधिकारी पाण्डेयले बताए । ‘पानी ढिला प¥यो, पहाडी जिल्लामा आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँहरू पनि छन्, त्यसले गर्दा रोपाइँ केही ढिला भएको हो’ उनले भने ‘खासै ढिला भएको छैन एक हप्ता जति ढिला भयो ।’
कैलाली
प्रतिक्रिया