धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले जनताका घरघरमा प्रदेश सरकार पुर्याउन खोजिरहेको बताएका छन् । उनले प्रदेश सरकार गाउँगाउँमा गरिबका झुपडी झुपडीमा सेवा गर्न आइरहेको बताए ।
बिहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कैलालीको कैलारी गाउँपालिका, हसुलियामा आयोजना गरेको बरघर गुरुवा पर्यटन प्रर्वद्धन सम्मेलनमा बोल्दै मन्त्री धामीले भने, ‘प्रदेश सरकार कहाँ छ ? भनेर गाउँमा हल्ला गर्ने गरेका छन्, प्रदेश सरकार गाउँमा छ,राम्रा कामका लागि प्रदेश सरकार लागि रहेको छ ।’
उनले थपे, ‘थारु समुदायमा रहेका बरघरलगायतका जुन विशेष व्यवस्था छन्, त्यसको संरक्षण,सम्बद्र्धन,प्रवद्र्धन गर्न सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा सबैले बुझ्ने गरी उल्लेख गरिएको छ र केही बजेटको पनि व्यवस्था गरिएको छ ।’
मन्त्री धामीले भने, ‘कैलाली कञ्चनपुरमा रहेका थारु समुदायलाई कसरी अझै अधिकार सम्पन्न बनाउने,त्यो समुदाय भित्र रहेका राम्रा प्रथालाई कसरी संस्थागत गर्ने त्यो कुरा मैले उठाउँदै आएको छु ।’
कैलाली र कञ्चनपुरमा रहेका थारुबस्ती वरिपरिका पर्यटकीय ठाउँको विकास गरिने भन्दैमन्त्री धामीले पर्यटनलाई आयआर्जनसँग जोडेर आर्थिक विकासतर्फ लैजाने बताए । नयाँ पुस्ताले थारु संस्कार, संस्कृति, भेषभुषा भुल्दै गएकोले यसको संरक्षणका लागि लाग्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘नयाँ पुस्ताले पुराना थारु संस्कृति झल्किने भेषभुषा लगाउन छोड्दै गएका छन्, त्यसको संरक्षण पनि गर्नुपर्यो, जुन पर्यटकको आकर्षण बन्न सक्छन् ।’ मन्त्री धामीले रोजगारी सिर्जनाका लागि कैलाली र कञ्चनपुरमा दुना टपरी उद्योगको रुपमा विकास गरिने बताए ।
कैलाली
प्रतिक्रिया