अर्घाखाँचीमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँची । केही दिनको अनुसन्धानपछि अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका– २ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वनमा काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो ।

आगो लगाउने भूमिकास्थान– २ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक बिक, ७० वर्षीय देविराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जंगली जनावरले सताएर आगो लगाएको उनीहरुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्र्याई गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो नियममा ६ महिनादेखि दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सन्धिखर्क– ७ खाँचीकोटको सामुदायीक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क– ३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीय मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

गर्मी मौसमका कारण जिल्लाका धेरै स्थानहरुमा आगो लागिरहे पनि मानविय क्षति नभएको अवस्थामा यो आगोलागीले अर्घाखाँची वासीलाई नै निकै पीडा तथा मर्माहत बनाएको छ ।

प्रतिक्रिया