दाइजो नपाउँदा श्रीमतीको शरीरमा आगो !

जनकपुरधाम । दाइजो नदिएको भन्दै धनुषामा एक युवकले श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान् राजीव झासहित उनको परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन् ।

घाइते श्वेता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छिन् । श्रीमान् राजीव र उनको परिवारै मिलेर आफ्नो शरीरमा आगो लगाएको आरोप उनले लगाइन् । श्वेताले आफूलाई श्रीमान् राजीव, ससुरा शिवशंकर झा, सासू र देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाएर मार्ने प्रयास गरेको उनको भनाइ छ ।

विवाह भएको १० वर्ष बितिसकेको छ, उनले भनिन् दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए, अहिले आगो लगाएर हत्या नै गर्ने प्रयास गरे ।’ यही वैशाख १ गते राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरेपछि छेक्ने क्रममा आफूलाई पनि उनले कुटपिट गर्दै आफ्ना भाइ, बुबा र आमाको सहयोगमा शरीरमा आगो लगाइदिएको आरोप श्वेताको छ ।

राजीवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि यतिका दिनसम्म उपचारका लागि अस्पतालसमेत नल्याएको गुनासो उनले गरिन् । घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताताका बुबा जयकुमार झा, भाइलगायत आफन्त आएर उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।

श्वेताका अनुसार विवाहका बेला श्रीमान् पक्षले ३ तोला सुन मागेको थियो । त्यतिबेला बुबाले २ लाख भारतीय रुपैयाँ दिए पनि कबुलअनुसार ३ तोला सुन भने अहिलेसम्म दिन सकेनन् । यही निहुँमा आफूलाई पतिसहित परिवारले पटक–पटक यातना दिइरहेको दाबी श्वेताको छ ।

प्रतिक्रिया