तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा विहिवारबाट शनिवारसम्म हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ ।

महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, बैंकर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करिब १ हजार जनाको सहभागिता रहने आयोजक सहकारी महासंघले जनाएको छ । 

महासम्मेलनमा सहकारी क्षेत्रको उपलब्धी, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, समाधानको बाटो, आगामी कार्यदिशाको बारेमा छलफल हुने महासंघका अध्यक्ष मिनराज कँडेलले जानकारी दिए । साथै महासम्मेलनबाट सन् २०३० सम्मको कार्यदिशा पनि तय गरिने बताए । दक्षिण एशियाका अन्य देशहरू मध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहँदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशले समेत महत्व दिएको महासंघका अध्यक्ष कडेलले बताए । महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौँमा हुने अध्यक्ष कडेलले बताए । 


महासम्मेलनको उद्घाटन चैत २३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन चैत २५ मा पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले बताएकी छिन । महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल गरी घोषणा पत्र जारी गरिने भएको छ । 

महासम्मेलनमा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, बैंकर अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेल र राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

यसैगरी महासम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव सुरेन्द्र पाण्डे र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले पनि कार्यपत्र प्रस्तुत गर्ने महासंघले जनाएको छ । त्यस्तै महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी अभियानको तर्फबाट विजनेस काउन्सिल अफ कोअपरेटिभ एण्ड म्युचलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन, आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयर र जेए जेन्चु जापानका सिनियर म्यानेजर टोक्यो इचियाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया