सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो ।

यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमबारदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्य सुरु गरिएको हो ।

उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको र विस्तार गरिने कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८ दशमलव ४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो ।

साँगा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बायाँतर्फ होचो स्थानमा सोमबारदेखि पर्खाल बनाउन थालिएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाखमा ठेक्का परेको थियो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने ७ दशमलव ५ किमी लामो छ । उक्त खण्डका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा हालै ठेक्का सम्झौता भइसकेको विभागले जनाएको छ ।

सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएकोे छ । यसका लागि प्रतिमिटर १५ लाख लाग्ने अनुमान गरिएको थियो ।

उक्त डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको अध्ययनमा जनाइएको छ । उक्त दुरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो ।

आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइनेछ भने आउने लेन पहिलेकै रूपमा रहनेछ ।
यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने जनाइएको छ ।

यसैबीच सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत संकलन सुरु गरिएको र सडकको बीचबाट दायाँबायाँ २५÷२५ मिटरको मापदण्डअनुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार नगरलाई सहयोगका लागि पत्राचार गरिएको छ । उक्त सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत संकलन थालिएको हो ।

यस सडकखण्डमध्ये बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४ दशमलव ६ किलोमिटर सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम हुनेछ । आयोजनाकी सिनियर डिभिजन इन्जिनियर राधिका प्रजापतिले सूर्यविनायकदेखि धुलिखेलसम्म ६ लेनको सडक बनाउने तयारीअन्तर्गत सो सडकखण्डको साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्म ४ दशमलव ६ किलोमिटर राजमार्ग दायाँबायाँ २५ गज नै कायम हुने बताइन् । बनेपा बजारमा मात्रै करिब तीन सयको हाराहारीमा घर छन् ।

०१७ सालमा राजमार्ग बन्दा सडक दायाँबायाँ २५÷२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै ०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको बताइन्छ ।

काभ्रेपलाञ्चोकको पूर्वी–दक्षणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारीसाधन काठमाडौं–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न र सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ ।

यस्तै संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दुरीसँग धुलिखेल नगरपालिका जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश–१ र मधेश प्रदेशका नागरिक काठमाडौं आउजाउ गर्दछन् । सडक विस्तार भएपछि पनि चीनसँगको छोटो दुरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दुरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया