धनगढीमा कृषि मार्ट सञ्चालन

धनगढी । कैलालीको धनगढीमा कृषि मार्ट सञ्चालनमा आएको छ । व्यवसायी विष्णुराज बुर्लाकोटीले धनगढी उपमहानगरपालिका–४ मा एसबी कृषि मार्ट प्रालि सञ्चालनमा ल्याएका हुन् । मंगलबार कृषि मार्टको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।

कृषि मार्टको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले एसबी कृषि मार्ट स्थापना गरेर उत्पादनलाई प्राथमिता दिने, एउटै छानामूनि सबैखालको कृषिसँग सम्बन्धित गतिविधिहरुलाई सञ्चालन गर्ने उदेश्य राखेर मार्ट सञ्चालनमा ल्याउनु अत्यन्त राम्रो काम भएको बताए ।

उनले भने, ‘सरकारले गर्नु पर्ने काम यस मार्टले गरेको छ,जोखिमयुक्त र चुनौतिपूर्ण काम भएतापनि यो राम्रो काम हो यसले देशको अर्थतन्त्रमा टेवा पुर्याउन सहयोग गर्ने छ ।’

प्रदेश प्रमुख जोशीले भने ‘कृषि उत्पादनमा बृद्धि नगरीकन,यसलाई महत्व नदिकन हाम्रो देशको अर्थतन्त्रलाई अगाडि बढाउन सक्दैनौँ । कृषिमा अघि नबढेर आत्मनिर्भर हुने कुरा कल्पना मात्रै भएको उनले बताए ।

एसबी कृषि मार्ट प्रालिका सञ्चालक विष्णुराज बुर्लाकोटीले आफूले नेपालमा पहिलो पूर्ण कृषि मार्ट विकाश गर्न चाहेको बताए ।

किसानहरुलाई व्यवसायिकरण गराई उत्पादनमा समावेश गराउँदै उपभोक्ताहरुलाई स्वस्थकर र गुणस्तरीय खाद्य सामग्रीहरु उपलब्ध गराउने, किसानलाई आवश्यक बीउविजन, मलखाद तथा मेसिनहरु सहज र सुलभ मूल्यमा उपलब्ध गराउने, किसानलाई अग्र्यानिक तरकारी तथा फलफूलहरु उपलब्ध गर्नमा प्रोत्साहन गर्दै उपभोक्ताहरुलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउने मार्टको उदेश्य भएको बर्लाकोटीले बताए ।

त्यस्तै कृषि र भेटेरिनरी सम्वन्धि कृषकहरुलाई समय समयमा परामर्श सेवा उपलब्ध गराउने,लोप हुँदै गइरहेका स्थानीय परिकारको पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने तथा विभिन्न कृषिसम्वन्धी बैठक र सेमिनार सञ्चालन गरि सुदूरपश्चिम प्रदेशमा कृषिको विकासमा सहयोग पुर्याउने मार्टको उद्देश्य रहेको उनले बताए ।

बीउबिजन खरिद र बिक्रि वितरण, विज्ञ सेवा, कृषितथा भेटरिनरी औजार उपकरण तथा मेसिनहरुको बितरण,ताजा तरकारी तथा फलफूल बिक्रि वितरण, कृषि उत्पादनको बिक्रि वितरण (ग्रोसरी), फ्रोजन मिट तथा माछा बिक्रि वितरण, कृषि तथा वन लघुउद्यम–घरेलु उद्योगबाट उत्पादित हस्तकलाका सामग्री विक्री वितरण, अर्गानिक ताजा तरकारी तथा खाद्य सामाग्री विक्री वितरण र डेरी, परम्परागत तथा स्थानीय खाजा र खानाको प्रबन्धका लागि क्याफ्टेरिया सञ्चालन गरिएको मार्टले जनाएको छ । करिब ७ करोड लगानीमा मार्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।

प्रतिक्रिया