पाँचथर । फिदिम नगरपालिका– २ मा रहेको एकमात्र बसपार्क आजबाट सञ्चालन मा आएको छ । उक्त बसपार्क विगत लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन ।
झण्डै दुई वर्षदेखि सञ्चालन हुन नसकेको सो बसपार्क यही माघ २ गतेबाट सञ्चालन भएको हो । बसपार्क सञ्चालनका लागि गत शुक्रबार फिदिम नगरपालिका बजार व्यवस्थापन समितिको बैठक बसेर आजदेखि सञ्चालनमा ल्याएको फिदिम– २ का वडाध्यक्ष दिनानाथ अधिकारीले जानकारी दिए ।
सो समितिले बसपार्क सञ्चालनका लागि फिदिम बजार क्षेत्रभित्र प्रवेश गर्ने सबै प्रकारका सार्वजनिक सवारी साधनहरु अनिवार्यरुपमा फिदिम नगरपालिका वडा नम्बर २ स्थित पल्लोटार बसपार्कबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयको प्रभावकारी कार्यान्वयन गर्न–गराउन सम्वद्ध सरोकारवाला सबैले प्रतिबद्धता जनाएको नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए । उनले आफूले निर्वाचनका बेला बोलेको विषय भएकाले सक्रियका साथ लागू बताए ।
बसपार्क सञ्चालनका लागि नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवसायी, संघ–संस्थालगायत एकबद्ध भएर निरन्तर कार्यान्वयन हुने नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । निजी सवारी साधनलाई पार्किङको व्यवस्थापन गरे राम्रो हुने सिडिओ गणेश गैरेले बताए ।
बसपार्क सञ्चालन भएसँगै दर्ता छुट भएका तिन पांग्रे सवारीलाई अनिवार्य दर्ता गराउने, सवारी साधान तथा यात्रु विमा अनिवार्य गराउने निर्णय गरिएको फिदिम नगरपालिका बजार व्यवस्थान समितिका अध्यक्ष एवं फिदिम– १ का वडाध्यक्ष गजाधार भट्टराईले बताए ।
यस्तै, सवारी साधानको रुट लागू गर्ने, रुट बजार व्यवस्थापन समितिले समन्वय गरी जिल्ला ट्राफिक कार्यालय तथा व्यवसायीहरुको सहयोग र समन्वयबाट रुट निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय गरिएको भट्टराईको भनाइ छ । आइतबार फिदिम नगपालिकाले एक सूचना जारी गर्दै बसपार्क सञ्चालन हुने जनाएको थियो ।
नगरको निणर्य कार्यन्वयन हुन आएको नगरपालिका कार्यकारी प्रमुख गणेश दाहालले बताए । सवारी साधन फिदिम बजारभित्र गणतन्त्र चोक, शनिबारे र बुद्धमार्गबाट मात्र सवारी साधनहरुले यात्रुहरु झार्ने र चढाउन पाउने सूचनामा उल्लेख छ ।
फिदिम बजारभित्र शनिबार बाहेक बिहान ९ बजेबाट १० बजेसम्म र बेलुका साढे ३ बजेबाट साढे ४ बजेसम्म दुई पांग्रे बाहेकका साधनहरु आवतजावत गर्न नपाउने सूचनामा उल्लेख छ । फिदिम बजार क्षेत्रमा अव्यस्थितरुपमा सवारी साधन पार्किङ गरेमा २ सयदेखि १ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने फिदिम नगरपालिकाले जनाएको छ ।
दुई पटकसम्म उद्घाटन गरी सञ्चालनमा ल्याइएको उक्त बसपार्क कार्यान्वय हुन नसक्दा राज्यको करौडौँ रकम दुरुपयोग हुने गरेको थियो । आजबाट बसपार्कमा गाडी सञ्चालन भएसँगै दस्तुर तिरेर चालकले गाडी इन्ट्रि गरेका छन् ।
बसपार्क सञ्चालन हुन नसक्दा फिदिम बजार तथा सडकहरुमा सवारी साधानहरु पार्किङ गरिदिँदा फिदिम बजारमा ट्राफिक जाम हुने गरेको थियो । बसपार्क सञ्चालन गर्ने स्थानीय निर्वाचनमा आफूले बचन परा हुन सुरु गरेको र हुनेमा ढुक्क रहेको वडा नम्बर २ का वडाध्यक्ष दिननाथ अधिकारीले सबै सरोकारवालालाई धन्यवाद दिए ।
प्रतिक्रिया