ठेकेदारको लापरवाहीले पाँचथर–तेह्रथुम जोड्ने पुल ११ वर्षदेखि अलपत्र

पाँचथर । पाँचथर–तेह्रथुम जिल्ला जोड्ने तमोर नदीमा निर्माणधिन लम्बुघाट पुल ११ वर्षसम्म पनि बनेको छैन । उक्त पुल २०६९–०७० मा निर्माण सुरु गरिएको थियो । पुल निर्माण नहुँदा तेह्रथुमका नागरिकहरु ठेकेदारविरुद्ध आन्दोलित हुने भएका छन् ।

यता पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश गैरेले सम्बन्धित निकायमा अनुगमन गरी खबरदारी गर्ने बताएका छन् । पाँचथर र तेह्रथुम जिल्लाकै तमोर नदीमा निर्माणधिन पक्की पुल हेरे पुग्छ । एकै पटक धेरै ठेक्का लिने, तर काम नगर्ने ठेकेदारको कार्यप्रति नागरिक दिक्क भएको जनाएका छन् ।

२०६९–०७० सुरु गरेको उक्त पक्की पुल निर्माणको ११ वर्ष पुगेको छ । तर, पुल निर्माण त परको कुरा, निर्माणस्थलमा कामदार नै छैनन् । ठेकेदारको कार्यशैलिप्रति आजित बनेका तेह्रथुमवासीले पछिल्लो समय संघर्ष समिति गठन गरी दबाब सृर्जना गर्न थालेका छन् ।

गत मंगलबार प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको नेतृत्वसहित संघर्ष समितिको टोली लम्बुघाटको पक्की पुल निर्माणस्थलमा पुगेको थियो । सो पुलको अवस्था हेर्दा उनीहरुले आफूलाई सम्हाल्न सकेनन् । उनीहरु निर्माण पक्ष र पुलको ठेक्का दिने सडक डिविजन कार्यालय धनकुटाप्रति अक्रोशित मात्रै बनेन्, समयमै पुल निर्माण नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

पाँचथर र तेह्रथुमको सिमानामा रहेको तमोर नदीमा निर्माणधिन पक्की पुल ११ वर्षदेखि अलपत्र छ । जिल्लाको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका जोड्ने लम्बुघाटको निर्माणधिन मोटरेवल पुल ११ वर्षदेखि अलपत्र परेको हो ।

पुल अलपत्र पारेको स्वाच्छन्द निर्माण सेवालाई दबाब दिन भन्दै दबाबमुलक १५ सदस्यीय समितिसमेत गठन गरेका छन् । उनीहरुले नेपाल बाल संगठनका सभापति अर्जुन ढुंगानाको संयोजकत्वमा १५ सदस्य पुल निर्माणर्थ दबाबमुलक संघर्ष समिति गठन गरेका हुन् ।

त्यस्तै गरी सल्लाहकार समितिमा सामाजिक अभियन्ता कपिलदेव सिंघक, अधिवक्ता नारायणप्रसाद लुईटेल र नागरिक समाजबाट चिरन्जिवीमान श्रेष्ठ लगायत छन् । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सडक डिविजन धनकुटाका प्रमुख निर्माण व्यवसायीसहित समितिको टोलीले पुलको स्थलगत निरीक्षण गरेका छन् ।

पुल निर्माणको काममा ढिलासुस्ती भएपछि ठेक्काको समय अवधिभित्रै काम सम्पन्न गर्न निर्देशन दिएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए । ‘हामीले समयमै जनशक्ति बढाएर काम सक्न ठेकेदार कम्पनीलाई भनेका छौँ, यो विषयमा निर्माण पक्ष सकरात्मक भएको छ, काम भए या नभएको विषयमा कार्यालयबाट निरन्तर निगरानी हुन्छ’, अर्यालले भने ।

पुल निर्माणको काममा ढिलाई हुदा लामो समयदेखि दुई जिल्लाको कृषिजन्य वस्तुको आयात र निर्यातमा समस्या परेको भन्दै यो विषयमा बिगतदेखि नै खबरदारी गर्दै आएको म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जय तुम्बाहाम्फेले बताए ।

‘पुल निर्माण नहुँदा दुवै जिल्लाका नागरिकलाई ठूलो समस्या परेको छ । ‘यो विषयमा संघ र प्रदेशमा निरन्तर आवाज उठाउँदै आएका छौँ’, उनले भने । जिल्लाको विकास निर्माणमा लापरवाही गरेको भन्दै यो विषयमा सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गरेको संघर्ष समिति संयोजक अर्जुन ढुंगानाले बताए ।

‘हामीले पुल निर्माणमा भएको लापरवाहीको विषयमा अख्तियार, गृह र भौतिक पूर्वाधार मन्त्रालयमा समेत ध्यानाकर्षण गराएका छौ’, ढुंगानाले भने्, ‘सबै क्षेत्रबाट सकरात्मक जवाफ आएको छ, पुल निर्माण नभएसम्म निरन्तर खबरदारी गर्छौँ ।’

यता स्वाच्छन्द निर्माण सेवालाई पुल निर्माणको ठेक्का दिने सडक डिविजन कार्यालय धनकुटाले पनि थपिएको म्यादमा पुल निर्माण नगरे ठेक्का तोड्ने जनाएको छ । कार्यालयका प्रमुख कैलाशप्रसाद देवले यही असार मसान्तसम्म पुल निर्माण गर्ने अवस्था नदेखिए ठेक्का तोड्ने प्रक्रियामा अघि बढ्ने बताए ।

‘हामीले पटक–पटक गरी धेरै पटक म्याद थपेका छौँ,’ उनले भने, ‘पछिल्लो समयमा त दैनिक पत्रचार गरेर थपिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन समेत दिएका छौँ, अब यो असार मसान्तभित्र पुल निर्माण सम्पन्न नभए ठेक्का तोड्ने प्रकृयातर्फ अघि बढ्छौँ ।’

निर्माण कम्पनीको प्रतिनिधि अजय लामिछाने भन्छन्, ‘पुलको दुवै पट्टीबाट पिलर निर्माण भइरहेको छ, पिलर निर्माण सम्पन्न भएसँगै स्टीलको ट्रष्ट राखेपछि पुल निर्माण पुरा हुन्छ, अबको केही दिनभित्रै सम्पूर्ण जनशक्ति खटाएर काम गर्छौँ ।’ सडक डिविजन कार्यालय धनकुटाले २०६९–०७० मा स्वाच्छन्द निर्माण सेवालाई पुलको ठेक्का दिएको थियो ।

१५ करोड ९० लाख २५ हजारको लगानीमा ठेक्का पाएको निर्माण कम्पनीले १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान गर्नुपर्नेछ । बाँकी ५७ मिटर स्टिलको ट्रष्ट राख्नुपर्नेछ । ५७ मिटर स्टीलको ट्रष्टको काम ठेकेदारले गर्दै आए पनि कामले गति नलिएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया