‘खोरका सबै बंगुर मरे, फेरि विदेशिनुपर्ने भयो’

तनहुँ । भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौँ र परिवारको साथमा बसौँ’ भन्ने भावना बोकेर उनी चार वर्षअघि घर फर्किए ।

घर फर्किएपछि थापाका दम्पतीले बंगुर व्यवसाय थाले । फार्ममा रहेका आठ बंगुर अफ्रिकन स्वाइन फिभरका कारण एकाएक मरेपछि उनका सपना सबै चकनाचुर बन्न पुगेको छ । करिब २० धार्नी बढी किलोग्रामका बंगुर मरेर खोर नै रित्तिएपछि फेरि विदेशिनुपर्ने अवस्था आएको कृषक थापाले बताए ।

जिल्लामा पहिलो पटक भीमाद नगरपालिकामा अफ्रिकन स्वाइन फिभर संक्रमण देखापरेसँगै बंगुर मरेपछि बंगुरपालन कृषक चिन्तित भएको भेटेरेनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त रोगविरुद्ध अहिलेसम्म भ्याक्सिन बनेको छैन । उनले भने, ‘नेपालमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बंगुर घटाउन भने पनि नमान्दो धेरै क्षति व्योहर्नुपर्ने अवस्था देखिएको छ ।’

अफ्रिकन स्वाइन फिभर संक्रमण हुँदा बंगुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, मृत्युदर सय प्रतिशत हुनेलगायतका लक्षण देखापर्ने केन्द्र प्रमुख डा. श्रेष्ठले बताए ।

थापाको फार्ममा रहेका आठवटै बंगुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको उनले जानकारी दिए ।

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन् । केन्द्रका प्रमुख डा. श्रेष्ठले भने, ‘यस रोगका कारण एक चरण बंगुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ ।’ तनहुँको भीमाद र म्याग्दे गाउँपालिका– ५ मा गरी हालसम्म २२ बंगुर मरिसकेको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया