विराटनगर । प्रदेश १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । उनी कुल १८ मत प्राप्त गरी विजयी भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले ९ तथा अमृत अर्यालले २ मत प्राप्त गरेका छन् ।
निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो । प्रदेश १ मा कांग्रेसको कुल २९ सदस्य रहेका छन् ।
नेता थापा नेपाली कांग्रेस प्रदेश १ का सभापतिसमेत हुनुहुन्छ । निर्वाचन नेपाली कांग्रेस प्रदेश नं १ का उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा भएको थियो ।
निर्वाचनपछि दलका नेता थापाले प्रदेश १ का नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।
उनले सत्तापक्षको असल कामको समर्थन एवं प्रशंसा गर्ने र गलत कामको विरोध गर्ने धारणा राख्दै कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चल्ने विचार व्यक्त गरे ।
प्रतिक्रिया