सहकारीको माध्यमबाट रोजगारी सिर्जना

काठमाडौं । सहकारीको माध्यमबाट रोजगारी सिर्जना भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बताएकी छिन । बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमाडौंमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले त्यस्तो बताएकी हुन ।

मन्त्री श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य आवश्यकता भएको बताइन । युवालाई नेपालमा नै राख्न नसकेको खण्डमा केही समयमा नेपाल बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको उनको भनाइ छ । मन्त्री श्रेष्ठले रोजगारीको सिर्जना गर्न नसक्नुको चुरो कारण पत्ता लगाइ त्यसको समाधान खोज्नुपर्नेमा जोड दिइन । उनले सहकारी सम्बन्धी ऐन छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको पनि बताइन ।

सहकारीमा भएको समस्याभन्दा बढी समस्या जस्तो बनाएर सहकारीका समस्याहरुको प्रचार गरिएको उनको भनाई थियो । समस्यामा आएका सहकारी औंलामा गन्न सकिने रहेको भन्दै राम्रा कामहरुको प्रचार हुन नसक्नु दुःखद् रहेको मन्त्री श्रेष्ठको भनाई थियो । मन्त्री श्रेष्ठले राम्रा सहकारी खोज्न विदेश जानुपर्ने अवस्था नरहेको भन्दै नेपालभित्र नै राम्रा सहकारी रहेको र महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेको दाबी समेत गरिन ।

प्रतिक्रिया