सान्नीत्रिवेणी ८ मा वडाध्यक्ष बनिन् १९ वर्षीय किशोरी

कालिकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ८ मुम्रामा १९ वर्षीय किशोरी भावना केसी वडाध्यक्ष बनेकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर एक दिनका लागि भावना वडाध्यक्ष बनेकी हुन् । प्लान इन्टरनेशनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको साझेदारीमा संचालित नेतृत्व र निर्णय परियोजना अन्तर्गत गल्र्ज टेकओभर कार्यक्रममा हालका वडाध्यक्षलाई विदाई गदै किशोरी भावना केसी १ दिनको लागि वडाध्यक्ष बनेर विभिन्न विषयमा छलफल गरेकी हुन् ।

प्लान इन्टरनेशनल नेपाल, हामी दाजुभाई र स्थानीय साझेदार संस्थाको साझेदारीमा संचालन गरिने गल्र्स टेकओभर बालिका सशक्तिकरणको नियमित अभियान हो । अब समान शक्ति भन्ने अभियानका लागि किशोरीहरुले उनीहरुको जीवनलाई प्रभावित पार्ने राजनीतिक निर्णयमा थप सहभागिताका लागि आव्हान गर्न हरेक बर्ष यसरी नै शक्तिको अभ्यास गर्ने र बालवालिकाको अधिकारका लागि आफु वडाध्यक्ष भएको भए समाज रुपान्तरणको काम गर्न तिर लाग्ने जस्ता कुराहरु राख्छन् ।

हरेक वर्ष अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर गरिने उक्त कार्यक्रम यस वर्ष गत असोज महिनामा आएको बाढी पहिरोको प्रकोपका कारण जनजीवन प्रभावित हुँदा १६ दिने महिल हिंसा बिरुद्धको अभियानको अवसर पारेर संचालन गरिएका हुरेन्डेक नेपाल लिड एण्ड डिसाईड कार्यक्रमका कार्यक्रम अधिकृत डम्बर बोहराले बताए ।

‘अब हाम्रो पालो : हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा सान्नीत्रीवेणी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष नौलासिंह बुढाको अध्यक्षतामा शुरु गरिएको हो । कार्यक्रममा वडाध्यक्षको पदभार ग्रहण गर्दै किशोरी भावना केसीले वडा सरकारले बालबालिका, किशोर किशोरी र महिलामाथि हुने विभिन्न खालका हिंसा तथा विभेद् र समाजमा विद्यमान परम्परागत हानीकारक अभ्यास न्यूनिकरणका लागि काम गर्ने तथा गाउँपालिका सरकारलाई समेत सो कार्यका लागि दबाब सिर्जना गर्ने बताईन् ।

सान्नीत्रिवेणी गाउँपालिका ८ का वडाध्यक्ष नौला सिंह बुढाले बालिका तथा किशोरी सशक्तिकरणका लागि आफ्नो पदीय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु वडा सरकारको लागि महत्वपूर्ण अवसर भएकाे बताए । बालबालिका, किशोर किशोरी, महिलामाथि हुने विभिन्न खाले विभेद्को अन्त्य गर्न र उनीहरुको वडाका विकास निर्माणका कार्यमा सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्था गरी अघि बढ्ने वडाध्यक्ष बुढाले बताए । सो कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष नरपति तिरुवाले प्लान इन्टरनेशनल नेपाल र स्थानीय साझेदार संस्था हुरेन्डेक नेपालले गरेको किशोरी सशक्तिकरणको यो अभ्यास समय सान्दर्भिक र उत्कृष्ट रहेको विचार व्यक्त गरेका छन् ।

प्लान ईन्टरनेशनलको स्टेट अफ द वल्र्ड गल्र्जले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी तथा युवा महिलाहरु राज्जको तीनवटै तहमा सहभागिताको लागि ईच्छुक रहेको देखाएको छ । सर्भेक्षणमा भाग लिएकामध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको र ९३ प्रतिशत किशोरी र युवा महिला कुनै समूह वा संस्थामा संलग्न भएको बताएका छन् । उनीहरुले नागरिक तहको संलग्नता र सहभागिताको अनुभव संगालेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ । विश्वका २९ देशका २९ हजार १५ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवा महिलाको सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थितिलाई समेटेर सर्वेक्षण गरिएको थियो । जसमा नेपालमा पनि एक हजार किशोरी तथा युवा महिलामाझ सर्वेक्षण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा बालिका एवं किशोरीहरुले भोगिरहेका संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीय संरचनामा रहेका जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई किशोरी र बालिकाको मुद्दामा गम्भीर हुन् अनुराेध गरिएकाे थियाे । साथै शक्तिमा साझेदारी भन्ने मूल उद्देश्यका साथ उपस्थित सम्पूर्ण किशोरीहरुले ज्ञापनपत्र समेत बुझाएका थिए । सो ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष बुढाले बालिका, किशोरी तथा युवा महिलाहरुका मुद्दाको पक्षमा आफू जहिले वकालत गर्ने र माथिल्लो तहमा समेत सक्दो दबाब दिने बताएका छन् । कार्यक्रममा सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ र ९ का वडा जनप्रतिनिधीहरु, सिओसीका किशाेर-किशोरी तथा सरोकारवालहरुको समेत उपस्थिति रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया