कैलालीमा हँसिया प्रहारबाट मृत्यु प्रकरण : फरार आरोपित आफैँ प्रहरीको सम्पर्कमा आए

धनगढी । कैलालीमा भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्युपछि फरार रहेका हत्या आरोपित आफैँ प्रहरीको सम्पर्कमा आएका छन् । हत्या आरोपित जोशीपुर गाउँपालिका-६ का ५० बर्षीय गौरीलाल ढुङ्गाना आफैँ प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

मंगलबार राति ढुङ्गानाको हँसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ भगतपुर बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको थियो । साला नाता पर्ने भण्डारीलाई हँसिया प्रहार गरेर फरार भएका ढुङ्गाना इलाका प्रहरी कार्यालय सडकपुर बौनियाको सम्पर्कमा आएको डिएसपी जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । हँसिया प्रहारबाट ढुङ्गानाका अर्का साला नाता पर्ने ४० बर्षीय जयराज भण्डारी पनि घाइते छन्। उनको कोहरलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया