काठमाडौं । लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आइतबार सम्पन्न भएको छ । निर्वाचनका क्रममा देशका विभिन्न निर्वाचन क्षेत्रमा केही रोचक र केही दुःखद् घटना पनि भएका छन् ।
बैतडी जिल्लाको पाटनमा १ सय १३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गरेकी छन् । पाटन नगरपालिका–४ की १ सय १३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी हुन् । उनी सहयोगीसहित मत खसाल्न मतदानस्थल पुगेकी थिइन् ।
उनले पाटन–४ कै उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मत खसालेकी हुन् । मतदान गरेपछि उनले अब आउने नयाँ जनप्रतिनिधि र नयाँ बन्ने सरकारले विकासको काम गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
‘मैले देशको अवस्था र देशमा भएका थुप्रै घटनाक्रम नजिकेबाट देखेकी छु, अब देशमा शान्ति होस, विकास होस् र गरिबका पनि राम्रो दिन आउन भन्ने चाहेकी छु,’ उनले भनिन् । जनताको दुःख बुझ्न सक्ने नेत्तृत्व चुनियोस् भन्ने चाहेको उनले बताइन् ।
यसैगरी पाँचथरमा १ सय १५ वर्षीया वृद्धाले मतदान गरेको बताइएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ की १ सय १५ वर्षीया मनरानी आङदेम्बेले मतदान गरेकी हुन् । उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ जेठ ११ गते उल्लेख छ ।
यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानवहादुर श्रेष्ठ, पुर्णप्रसाद श्रेष्ठ र उनीहरूका श्रीमतीले मतदानस्थलमै पुगेर मतदान गरेका हुन् ।
उनीहरूले कालिकादेवि मावि मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरूलाई भोट दिए । उनीहरू तीन दिनदेखि आमाको मृत्यको शोकमा क्रिया बसिरहेका छन् । जीवनको सबैभन्दा दुःखद् क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनीहरूले आफ्नो मतले आगामी पाँच वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताए । उनीहरूका लागि आफ्नो परम्पराअनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाइएको थियो ।
यसैगरी तेह्रथुममा मतदानका लागि लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार, लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।
यसैगरी रामेछाप जिल्लामा पनि एक मतदाताको मृत्यु भएको छ । जिल्लाको एक मतदान केन्द्रमा मतदान गरी फर्किंदै गर्दा एक वृद्धको निधन भएको हो । निधन हुनेमा ७१ वर्षीय ठगबहादुर सुनुवार रहेका छन् ।
लिखु तामाकोसी गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा मतदान गरी फर्किंदै गर्दा उनको निधन भएको प्रहरीले जनाएको छ । मतदान स्थलबाट बाहिर निस्कने बित्तिकै उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै निधन भएको हो ।
यसैगरी हिमाली जिल्ला मनाङको चार वटा मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका थिए । जिल्ला कारागार अस्थायीसहित कुल २९ मतदान केन्द्र रहेको मनाङको कुनै पनि मतदानस्थलमा दुई वटा मतदान केन्द्र थिएनन् । अधिकांश मतदान केन्द्रमा ५० देखि सय जनासम्म मतदाता थिए ।
यसैगरी संघीय सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफैलाई मत हाल्न पाएनन् । रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रहेका खाणको मताधिकार क्षेत्र नम्बर १ मा रहेकाले उनले आफ्नो उम्मेद्वारी रहेको क्षेत्रमा मतदान गर्न नपाएका हुन् । खाणले क्षेत्र नम्बर १ को मणिग्रामस्थित मतदान केन्द्रबाट मतदान गरे ।
यसैगरी सप्तरी जिल्ला राजविराज नगरपालिका–३ का ३४ वर्षीय विवेककुमार भट्टराई चुनावमा मत हाल्न विराटनगरबाट राजविराज आएका थिए । उनी आफूले मतदान गर्ने मतदान केन्द्र केशो अनुरूद्धवती माध्यमिक विद्यालय पुगे । मतदान गर्ने प्रक्रियाअनुसार आफ्नो क्रमसंख्या र नाम खोज्दा उनको मतदाता नामावलीमा आफ्नो नाम पाएनन् ।
नाम नभएपछि उनी छक्क परे । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भने उनको नाम थियो । उनले मत पनि खसाएका थिए । अहिले आफ्नो नाम नभएपछि उनले मतदान अधिकृत निरञ्जन यादवलाई जानकारी गराए ।
निर्वाचन अधिकृतले निर्वाचन कार्यालय सप्तरीमा सम्पर्क गर्दा विवेकको नाम भूलवस डिलिट भएको हुन सक्ने जवाफ पाए । त्यसपछि मतदान अधिकृतले विवेकलाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न पठाए । निर्वाचन कार्यालयको वेब साइटमा पनि विवेकको नाम थिएन ।
त्यसपछि उनी निराश हुँदै फर्किए । मत हाल्नैका लागि विराटनगरबाट आएका उनले कर्मचारीको लापरबाहीले मताधिकारबाट वञ्चित हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे ।
राजविराज–३ का ७० वर्षीय हैदर अली पनि मतदानस्थलमा मत खसाल्नका लागि बिहानदेखि १२ बजेसम्म चारपटक धाए । उनले पनि आफ्नो नाम फेला पारेनन् । निर्वाचन आयोगको वेब साइटमा खोज्दा पनि उनको नाम र क्रम संख्या भेटिएन । आयोगका कर्मचारीको लापरबाहीका कारण आफू मताधिकारबाट वञ्चित भएको आक्रोश उनले व्यक्त गरे ।
यसैगरी झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका दुई प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच मतदानस्थलमा जम्काभेट भएको छ । सत्ता गठबन्धनको उम्मेद्वार रहेका सिटौला र एमालेको समर्थन पाएका उम्मेद्वार लिङ्देनबीच मतदानका क्रममा जम्काभेट भएको हो । जम्काभेटमा उनीहरूले एकअर्कालाई अभिवादन गरेका थिए । दुवैले एकअर्कालाई जितको शुभकामना पनि दिएका थिए ।
प्रतिक्रिया