काठमाडौं । आज (आइतबार) प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दैछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने छन् ।
जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । उक्त प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये १७ लाख ३८ हजार ०८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता रहेका छन् ।
प्रदेश १ मा कूल ३३ लाख ९६ हजार ८६५ मतदाता छन् । जसमध्ये १७ लाख २९ हजार ७७२ पुरुष मतदाता छन् भने १६ लाख ६७ हजार ७१ महिला र २२ जना अन्य मतदाता छन् । मधेश प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य गरी कूल ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।
कूल ३२ लाख २९ हजार ६३७ कूल मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य मतदाता छन् । गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता रहेको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् । यस्तै, कर्णाली प्रदेशमा कूल १० लाख ८ हजार ४०३ जना मतदाता छन् । जसमध्ये ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य मतदाता रहेका छन् । यो नेपालकै कम मतदाता रहेको प्रदेश पनि हो ।
उत्साहपूर्वक सहभागिता जनाउन् होस ः राष्ट्रपति (बक्स)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा शनिबार सन्देश दिँदै उहाँले मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताए ।
जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ छ ।
राष्ट्रपति भण्डारीले जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताएकी छन् । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँने उनको विश्वास छ ।
राष्ट्रपति भण्डारीले आम निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शीता स्थापित गर्न मद्दत पुग्ने जनाउँदै स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताएकी छन् ।
राष्ट्रपतिले आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।
दुई कर्मचारीको निधन
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको शनिबार बिहान सुतिरहेको अवस्था र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रका सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार शोक विज्ञप्ति जारी गरी दिवङ्गत कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोग नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई आयोगले आग्रह गरेको छ ।
१८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता
आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकल मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा देशभरबाट १८५ जना मतदाताले भोट हाल्न पाउने भएका हुन् ।
जसमध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै ७० जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने छन् । यस्तै, बागमतीमा २५ जना, गण्डकीमा ११ जना, प्रदेश १ मा २२ जना, लुम्बिनी प्रदेशमा ३४ जना, सुदूरपश्चिममा १८ जना र कर्णालीमा सबैभन्दा कम ३२ जनाले मतदान गर्न पाउनेछन् ।
अधिकारकर्मीहरूले नेपालमा ठूलो संख्यामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको दाबी गरे पनि न्यून संख्याले मात्र लैंगिक पहिचानको आधारमा नागरिकता, मताधिकार लगायतका अधिकार प्राप्त गरेका छन् ।
‘आयोगको गरिमा जोगाउनुस्’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मतगणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मतगणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका छन् ।
‘मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उमेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक नागरिक समाज, मिडियाकर्मी, मतदातालगायत सबैप्रति समान व्यवहार गर्नुहोस्,’ उनले भने, ‘तपाईँको कामले तपाई आफू नै लज्जित हुनुपर्ने अवस्था आए हामी सबै लज्जित हुनुपर्नेछ । तपाईको काम निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ ।’
जहाँ सय जना पनि छैनन् मतदाता
हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन् । यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन् ।
नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने भएकाले मतदाता कम भए पनि कायमै राखिएको उनको भनाइ छ ।
चामे–५ स्थित वडा कार्यालय भवन केन्द्रमा ९६ मतदाता छन् । शर्माका अनुसार नार्पाभूमि–१ नारगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा ९६, फु आधारभूत विद्यालय मतदान केन्द्रमा ७८ र नार्पाभूमि–५ फुगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा सबैभन्दा कम ७१ मतदाता छन् ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार ६ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार ६ सय ४७ मतदाता छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ६ हजार सात सय ७९ मतदाता छन् ।
जसमा प्रदेशसभा १ मादुई हजार छ सय २४ मतदाता र प्रदेशसभा २ मा चार हजार एक सय ५५ मतदाता छन् ।
प्रतिक्रिया