च्याउ खेतीबाट स्वरोजगार बन्दै मुक्त हलिया परिवार

धनगढी । डडेल्धुराको अजयमेरु गाउँपालिका–१ मेलकट्टेका टीकाराम चुनारा व्यवसायिक च्याउखेती गरिरहेका छन् । उनले अहिले च्याउ खेती गरेर आम्दानी पनि राम्रै गरिरहेका छन् । टीकारामको व्यवसाय गर्ने चाहाना त पहिलेदेखि नै थियो ।

तर, कमजोर आर्थिक अवस्थाका कारण गर्न सकेका थिएनन् । लामो समय हलिया बनेर साहुको घरमा काम गरेका टीकारामले हलिया मुक्ती भइसकेपछि धेरै समस्याको सामाना गर्नुपर्यो । नेपाल सरकारले २०६५ सालमा हलिया मुक्तीको घोषणा त गर्यो तर उनीहरुको उचित पुनःस्थापना गरेर आत्मनिर्भर बनाउन सकेन ।

हलियाहरुले मुक्तिपछि धेरै समस्या भोग्नुपरेको छ । दुई छाक टार्नका लागि पनि मुक्त हलियालाई धौधौ पर्दै गएको छ । टीकारामले भने, ‘हलियाबाट मुक्ति भएपनि समस्याबाट भने मुक्ति हुन सकेन, खेतीपाती गर्न आफ्नो जग्गा जमीन पनि भएन, राम्रो व्यवसाय गर्नका लागि आर्थिक अवस्था राम्रो भएन ।’

उनका अनुसार सरकारले घर बनाउन जग्गा र पैसा त दियो तर रोजगारी दिन सकेन, आम्दानीको स्रोत केही भएन्, व्यवसाय गरौँ भने आफूसँग पैसा भएन । उनले जेनतेन खाने गुजारा गर्दै आए । उनले भने, ‘हलियाबाट त मुक्ति पाइयो गरिबीबाट भने मुक्ति पाइएन ।’

टीकाराम पुराना दिनहरु सम्झदै भन्छन, ‘उतिबेला त साहुले जतिबेला बोलायो गएर काम गर्नुपथ्र्यो, अहिले त्यस्तो बाध्यात्मक अवस्था त छैन्, आफ्नो काम सके गरिन्छ नसके आराम गरिन्छ ।’ गरिबीले थिच्दै गएपछि टीकाराम आत्मनिर्भर भएर काम गर्न चाहान्थे तर ज्ञान, सीप र पैसा भने थिएन ।

जसोतसो जिविका चलाइरहेका मुक्त हलिया परिवारले कोरोनाका कारण रोजगारी गुमाउँदा झन समस्यामा परे । टीकारामलाई गत वर्ष मुक्त हलियाको आयआर्जनका लागि ELCA र लुथरन विश्व फेडेरेशन (LWF) नेपालको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले सञ्चालन गरेको साहस–२ परियोजनाले व्यवसायिक च्याउ खेतीका लागि सहयोग गरेको छ ।

गत वर्षदेखि टीकारामले च्याउ खेती गर्न थालेका छन् । टीकारामले भने, ‘हामीलाई व्यवसायबारे जानकारी पनि भएन, व्यवसाय गर्ने पैसा पनि भएन, महासंघले गत वर्ष च्याउ खेतीसम्बन्धि आठदिने तालिम दियो ।’ उनले थपे, ‘साहस–२ परियोजनाबाट च्याउ खेतीका लागि चाहिने बीउ, सिँचाई पाइप, छाना बनाउने सामग्री, ड्रमलगायत ५० हजार बराबरका सामग्री दियो ।’

‘तालिमपछि व्यवसाय गर्दा स्वरोजगार बन्न सकिन्छ भन्ने पनि बुझियो’, उनले भने, ‘आवश्यक सामग्री पनि पाइयो, त्यसपछि च्याउ खेती सरु गरेँ ।’ अहिले उनले च्याउ खेतीबाट राम्रै कमाई गरिरहेका छन् । टीकारामले भने, ‘तीन लट च्याउ उत्पादन गरेर बेचिसकेँ आम्दानी पनि राम्रै भइरहेको छ, एक लटमा ४० देखि ५० हजारसम्म कमाइ हुन्छ, अब चौथो लट च्याउ उत्पादन गर्ने तयारीमा छु ।’

११ जनाको परिवार रहेका टीकाराम भन्छन, ‘पहिलेको भन्दा अहिले घर खर्च चलाउन धेरै सहज भएको छ, आम्दानी बढ्दै गएको छ, स्वरोजगार बनिएको छ ।’ यस्तै सोही ठाउँकी २३ वर्षीया अमृता चुनाराले पनि गत वर्ष महासंघले दिएको तालिम र साहस–२ परियोजनाबाट च्याउ खेतीका लागि आवश्यक पर्ने सामग्रीहरु पाएपछि च्याउ खेती गर्न थालेकी छन् ।

उनले पनि गत वर्ष साहस–२ बाट च्याउ खेतीका लागि चाहिने बीउ, सिँचाई पाइप, छाना बनाउने सामग्री, ड्रमलगायत ५० हजार बराबरका समाग्री पाएकी हुन् । उनले च्याउ खेतीबाट अहिले राम्रै आम्दानी गरिरहेकी छन् । ४ जनाको परिवार रहेकी अमृता मुक्त हलिया परिवारकी सदस्य हुन् । उनले आर्थिक अभावका कारण व्यवसाय गर्न सकेकी थिइनन् ।

‘साहस परियोजनाबाट बीउ बिजनलगायत च्याउ खेतीका लागि आवश्यक पर्ने साम्रगी पाएँ’, उनले भनिन्, ‘तालिम पनि पाएँ त्यसपछि च्याउ खेती सुरु गरेँ ।’ उनले थपन्, ‘हामी आफैले त व्यवसाय गरौँ भने सीप, लगानी गर्ने पैसा थिएन्, तर साहस परियोजनाबाट सहयोग पाएर व्यवसायिक रुपमा च्याउ खेती गरिरहेकी छु ।’

अहिले च्याउ खेतीबाट राम्रै कमाइ भइरहेको सुनाउँदै उनले भनिन्, ‘दैनिक घर खर्च चलाउन लुगा–कपडा किन्न, घर व्यवहार चलाउन सहज भएको छ ।’ ‘तीन लट च्याउ उत्पादन गरेर बेचीसकेँ, अब चौथो लट च्याउ उत्पादन गर्ने तयारी गर्दैछु’, उनले भनिन् ।

उनले एक लटमा उत्पादन भएको च्याउबाट ५० देखि ६० हजारसम्मको आम्दानी हुने बताइन् । टीकाराम र अमृता मात्रै नभइ सो गाउँका मुक्त हलिया परिवारका ८ जनाले साहस परियोजनाबाट पाएको सहयोगले व्यवसायिक च्याउ खेती गरिरहेका छन् । अमृताले भनिन्, ‘हामी यो गाउँका ८ जनाले च्याउ खेती गरिरहेका छौँ, सबैले राम्रै कमाइ गरिरहेका छाैँ ।’

कोभिड–१९ मा रोजगारी गुमाएका मुक्त हलिया परिवारका युवाहरुलाई स्वरोजगार बनाउनले उद्देश्यले संस्थाले तालिम दिएर च्याउ खेतीका लागि आवश्यक सहयोग गरेको साहस–२ परियोजनाका परियोजना सहायक भुवन चुनाराले बताए । च्याउ खेतीका लागि परियोजनाले प्राविधिक सहयोग पनि गर्दै आएको उनले बताए ।

प्रतिक्रिया