एक सय मतदान केन्द्र अपांगतामैत्री

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक सय मतदान केन्द्रलाई अपांगतामैत्री बनाइने भएको छ । निर्वाचन आयोगले विभिन्न पक्षहरूको अध्ययन गरी ती मतदान केन्द्रलाई अपांगतामैत्री बनाउने तयारी गरेको हो ।
आयोगले गरेको निर्णयअनुसार, ती मतदान केन्द्रहरूमा सांकेतिक भाषा सूचीको व्यवस्था गरिनेछ । ती मतदान केन्द्रहरूमा खटिने कर्मचारीलाई पनि सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरणसमेत प्रदान गरिने भएको छ ।
यसैगरी मतदान गर्ने तरिकासम्बन्धी ब्रेललिपि समाग्री, रंगीचंगी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिने आयोगले जनाएको छ । आयोगले आगामी निर्वाचनका लागि कुल २२ हजार २ सय २६ मतदान केन्द्र तय गरेको छ ।

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । बाँकी प्रदेशको मतपत्र पनि ढुवानीको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो । बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकोप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको हो ।

मनाङ र मुस्ताङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिएको हो । मनाङ जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको जानकारी जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले दिए । ‘बिहीबार विहान प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ, कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ’, उनले भने ।

प्रदेशसभा–१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा–२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उनले बताए । गत निर्वाचनमा कुल ५ हजार ८ सय ८१ मतदातामध्ये ४ हजार ३ सय ३८ मत खसेको थियो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मनाङमा ३ हजार २ सय ८१ पुरुष र ३ हजार ४ सय ९८ महिला गरी कुल ६ हजार ७ सय ७९ मतदाता छन् ।

शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रदेश नम्बर १ को मतपत्र ढुवानी शुरु हुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।

यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने बताइएको छ । त्यसमध्ये अब २५ लाख ९४ हजार मतपत्रमात्र छपाइ हुन बाँकी छ ।

शुक्रबारसम्म मतपत्र छपाइ सम्पन्न हुने पनि आयोगले जनाएको छ । आयोगका अनुसार कात्तिक २५ सम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्रसमेत पुग्ने व्यवस्था मिलाइएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आयोग अन्तिम तयारीमा जुटेको छ ।

प्रतिक्रिया